स्याङ्जाको वालिङ नगरपालिकाले १३ औँ नगरसभा सम्पन्न गरेको छ । बुधबार नगरपालिकाले १३ औँ नगरसभा सम्पन्न गरेको हो । नगरसभाले दुईवटा ऐन पारित गरेको छ । नगरसभामा सभाध्यक्ष तथा नगरप्रमुख कृष्ण खाँणले पेश गरेका दुईवटा ऐन नगरसभाको बहुमतले पारित भएको हो ।
वालिङ नगरपालिकाको साझेदारी कार्यक्रम तथा व्यवस्थापन ऐन, २०७९ र वलिङ नगरपालिकाको निजी साझेदारी ऐन,२०७५ (संशोधन प्रस्ताव) नगरसभामा बहुमतका साथ पारित भएको हो । नगरसभामा विषयगत उपसमिति संयोजकको प्रतिवेदन प्रस्तुत भएको थियो । सभामा नगर उपप्रमुख कविता तिवारी गैहेले आव २०७९÷८० को स्वीकृत आय व्ययको संशोधित विवरण पेश गर्दै हालसम्म विनियोजित बजेटको २३.९५ प्रतिशत बजेट खर्च भएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
नगर उपप्रमुख गैहेले प्रस्तुत गरेको प्रतिवेदन अनुसार सबैभन्दा कम आर्थिक क्षेत्रमा बजेट खर्च भएको छ । चालु आवमा आर्थिक विकासको लागि विनियोजन गरिएको १० करोड ४१ लाख ६० हजारमध्ये ५.१५ प्रतिशतमात्र बजेट खर्च भएको प्रतिवेदन प्रस्तुत भएको छ । नगरसभामा प्रस्तुत प्रतिवेदन अनुसार कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा सबैभन्दा धेरै रकम खर्च भएको छ ।
यस आवमा १२ करोड ४७ लाख ५८ हजार कार्यालय सञ्चालनको लागि विनियोजन गरिएकोमा पौष मसान्तसम्म ३५.१ प्रतिशत खर्च भएको छ । त्यसैगरी सामाजिक विकासमा ३१.५६ प्रतिशत, पूर्वाधार विकासमा १५.०७ प्रतिशत र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा २२.६६ प्रतिशत बजेट खर्च भएको प्रतिवेदन नगर उपप्रमुख कविता तिवारी गैहेले प्रस्तुत गरेकी थिइन् ।
सशर्त अनुदानमा वालिङका विभिन्न आयोजनाको रकम घटेर कायम भएको उल्लेख गरिन् । वालिङ नगरपालिकाका विभिन्न वडामा सञ्चालित ९ वटा आयोजनाको लागि विनियोजन भएको २ करोड १५ लाखमध्ये रकम घटेर ७१ लाख ६१ हजार मात्र कायम भएको उनले बताइन् ।
नगरसभामा न्यायिक समिति, लेखा समिति, सुशासन समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति लगायतका समितिका संयोजकले आ–आफ्नो प्रतिवेदन पेश गरेका थिए ।
सभामा पेश गरिएका प्रतिवेदनमा आर्थिक विकासका योजना, समाजिक विकासमा भएका प्रगति, शैक्षिक गुणस्तर वृद्धिका लागि तय गरिएका योजना, न्यायिक निरुपण तथा फछ्र्यौट गरिएका न्यायिक मामिला लगायतका विषयमा छलफल भएको थियो ।
