गण्डकी प्रदेशमा मन्त्रालयको संख्या गाभिएसँगै सचिव व्यवस्थापनमा समस्या देखिएको छ । प्रदेशमा रहेका १२ मन्त्रालयबाट ७ मा झारिएसँगै सचिव दरबन्दी पनि कति राख्ने भन्ने विषयमा छलफल भइरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ७ मनत्रालयमा ८ सचिव रहनुपर्ने हो ।
गाभिएका मन्त्रालयको कार्यक्षेत्र बढी भएको हुदाँ एउटै मन्त्रालयमा दुई सचिव राखेर जाने विषयमा पनि छलफल भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता रमेश घर्तीले जानकारी दिए । उनका अनुसार सवै मन्त्रालयमा कर्मचारीको दरबन्दी माग गरिएको छ । दरबन्दी संख्या आएपछि टुंगो लाग्छ ।
सचिवलाई केन्द्रमा नै फिर्ता गर्ने या मन्त्रालयमा नै काम विभाजन गरेर राख्ने भन्ने टुंगो नलागेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । उनले मन्त्रालय गाभिए पनि कार्यक्रमको क्षेत्र फरक–फरक भएकाले एउटै मन्त्रालयमा दुई मन्त्रालय राखेर पनि काम गर्न सकिने बताए । ‘पहिले जुन मन्त्रालयको जिम्मेवारी हेर्नुभएको छ सोही क्षेत्र हेर्ने गरि एउटै मन्त्रालयमा दुई सचिव रहन सक्नुहुन्छ’ उनले थपे । मुख्यमन्त्री कार्यालयमा २ सचिवको दरबन्दी छ । मुख्यमन्त्री कार्यालयसहित १२ मन्त्रालयमा १३ सचिव थिए ।
अन्य ६ मन्त्रालयसहित अव गण्डकी प्रदेशमा ८ सचिवको दरबन्दी रहनेछ । प्रमुख सचिव नेपाल सरकारको सचिव रहने व्यवस्था छ भने, नेपाल सरकारको सहसचिव प्रदेश मन्त्रालयमा सचिव रहने व्यवस्था छ । मन्त्रालय गाभिएपछि ५ सचिव बढी भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशमा ३ हजार १ सय ७८ कर्मचारी दरबन्दी छ । जसमध्ये २ हजार २ सय ९५ पद पूर्ति भएको छ भने, ८ सय ८३ पद रिक्त रहेको उपसचिव घर्तीले बताए । उनका अनुसार रिक्त रहेका पद प्राविधिकको बढी रहेको छ भने, केही प्रशासन मात्रामा पनि खाली रहेका छन् ।
