राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । सांसद पदसमेत नरहने गरी पार्टी सभापति रवि लामिछाने नागरिकता मुद्दामा गृहमन्त्रीबाट मुक्त भएपछि पुनः गृहमन्त्री माग गरेका थिए । पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले अस्वीकार गरेपछि रिसको झोकमा लामिछानेले सरकार छाड्ने निर्णय गरेको हो ।
आइतबार केन्द्रीय कार्यालयमा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । यसअघि बिहीबार बसेको बैठकमा पनि त्यसबारे छलफल भए पनि प्रधानमन्त्री दाहालले त्यसबारे छलफल गर्न दुई दिनको समय मागेकोमा प्रतिबद्धताबमोजिम प्रधानमन्त्रीले रास्वपालाई गृह मन्त्रालय दिन इन्कार गरेपछि रास्वपाले सरकार छोडेको हो ।
सरकारबाट बाहिरिएपछि अब रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की फिर्ता हुने भएका छन् । कार्यभार सम्हालेको १९ दिनमै उनीहरु पदमुक्त भएका छन् । मन्त्रीद्धय खनाल र अर्याल तथा राज्यमन्त्री कार्कीले माघ ३ मा पद तथा गोपनियताको शपथ लिएका थिए ।
