संविधान र राष्ट्रियता संकटमा परेको बताउदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले संविधान र राष्ट्रियता बचाउनको लागि राष्ट्रपति सहमतिबाटै हुने बताएका छन् । आइतबार पोखरामा संचारकर्मीसंग भेटघाट गर्दै उनले राष्ट्रियता र संविधानको रक्षा गर्न साझारुपमा राष्ट्रपति आउनुपर्ने बताएका हुन् ।
संविधान प्रहारको लागि यतिबेला देश विदेशबाट विभिन्न शक्ति लागेको बताउदै उनले संकटको अवस्थामा राष्ट्रपति दल विशेष चयन नहुने र साझा उम्मेदवार खडा गर्न सत्ता र प्रतिपक्ष दल दुवै उत्तिकै जिम्मेवारी हुनुपर्ने बताएका थिए ।
‘हामीले राष्ट्रपति पात्र हेरेका छैनौ’ महासचिव गुरुङले भने, ‘नीतिगत र वैचारिक मुद्दा उठाएका छौ । यसमा आजसम्मका उपलव्धी संस्थागत गर्न सक्ने सक्षम पात्र साझा रुपमा उठाउनेछौ ।’ संविधानमाथि खतरा पैदा हुन सक्ने भएकाले संविधान र राष्ट्रियता जोखिममा रहेको उनको तर्क थियो । यसका लागि राष्ट्रिय सहमतिको अभियान चलाउनुपर्छ । यो अभियान माओवादी केन्द्रले चलाएको उनले बताए ।
