जनवरी १ देखी पोखरा अन्र्तराष्ट्रिय विमानस्थल संचालनमा आएको छ । तर, विमानस्थल पुग्नको लागि गाडीको सुविधा छैन् । नीजि सवारी नहुने र घुम्न आउनेको विकल्पमा कुनै सवारी नहुँदा ट्याक्सी विकल्प रोज्नुपर्छ । ट्याक्सी चढ्नुपर्ने बाध्यतात्मक भएपछि यहाँका ट्याक्सीको मनपरी भाडादर पनि बढ्दो छ ।
विमानस्थलबाट छुट्दा नजिकैको दुरी भए पनि कम्तीमा ८ सय रुपैयाँ तिर्नुपर्ने शिव गौतम बताउँछन् । सरकारले ट्याक्सीलाई मिटरमा चल्ने भने पनि ट्याक्सी व्यवसायी मिटरमा चल्न मान्दैनन । भाडा मनपरी लिने गरेको गुनासो विशेषगरी हवाईयात्रुको छ । हवाई र ट्याक्सीको भाडादर उस्ताउस्तै हुने भन्दै विरोधसमेत हुने गरेको पाइन्छ । यस विमानस्थलबाट दैनिक ५० को हाराहारीमा ट्याक्सी छुट्ने गर्छन् ।
गण्डकी ट्याक्सी व्यवसायी प्रालिका अध्यक्ष गान्धीराज गिरीले सरकारले ट्याक्सीको भाडा समायोजन नगर्दासम्म ट्याक्सीले आफ्नै तरिकाले भाडा लिने गरेको बताए । ‘भाडादर समायोजनका लागि हामीले प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निवेदन दिएका छौ’ उनले भने, ‘भाडादर हामीले समायोजन गर्ने होइन, सरकारले जति छिटो गर्छ त्यति सहज हुने हो ।’ उनले हाललाई काठमाडौं एयरपोर्टको अनुसार भाडा लिनको लागि ट्याक्सी व्यवसायीलाई भनिएको बताए ।
२०७८ माघमा मन्त्रालयले पोखरामा ट्याक्सी मिटरमा चल्ने र ठाउँ अनुसारको भाडादर तोकेको थियो । पेट्रोलको मुल्य १३६ हुँदा २ सय मिटरमा ८० रुपैया र २ सय मिटर थपिदै जादा १० रुपैयाँ बढ्दै जाने । प्रति किलोमिटरमा १ सय २० रुपैयाँ लिने गरी भाडा समायोजन भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बताए । ‘त्यो बेला भाडा समायोजन काठमाडौंमा भन्दा बढी गरेका थियौ’ उनले भने, ‘अहिले पेट्रोलको मूल्य बढेको छ । भाडा समायोजन गर्नुपर्ने निर्वाचन र सरकार गठन प्रक्रियाले ढिला भएको हो ।’ उनले गत असोजमा सचिवको संयोजकत्वमा हुने भाडादर समायोजन समितिले प्रतिवेदन बुझाएको भए पनि चुनावको समय भनेर थाँती राखिएको बताए । उक्त निर्णय मन्त्रिपरिषद्को वैठकले नै लागू गर्नुपर्ने हुदाँ विभागीय मन्त्रीसमक्ष प्रतिवेदन बुझाइएको उनले बताए ।
गण्डकी र पोखरा ट्याक्सी व्यवसायी समितिको द्धन्द्धले गर्दा भाडादर कार्यान्वयनमा समस्या भएको मन्त्रालयले जनाएको छ । भाडादर मन्त्रालयले तोक्ने भए पनि कार्यान्वयन र कारबाहीको अधिकार ट्राफिक प्रहरीमा हुदाँ प्रहरीले नै कारबाही अघि नबढाउने मन्त्रालयको आरोप छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले पोखरा विमानस्थलमा लक्षित गर्दै बस संचालन गर्नुपर्ने बताएका थिए । फागुन ४ मा पोखरा विमानस्थलको अनुगमन गर्दै उनले विमानस्थलको छुट्टै बस संचालन गर्नुपर्ने बताएका हुन् ।
