राष्ट्रिय प्रजातन्त्र पार्टी शनिवार सरकारबाट बाहिरीएको छ । यसको कम्पन गण्डकी प्रदेशमा पनि देखिएको छ । सरकारलाई समर्थन गर्दै एउटा मन्त्रालयको जिम्मेवारी समालेको राप्रपा बाहिरीएमा गण्डकी सरकार पनि अल्पमतमा पर्ने भएको छ ।
राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको हो । गण्डकीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले राप्रपाबाट सरकारमा नेतृत्व गरेका छन् । मन्त्री पञ्चराम गुरुङले पार्टीको निर्देशन पालना गर्नुपर्ने बताउदै सरकारबाट बाहिरीने बताएका छन् । उनले कतिबेला राजीनामा दिन्छन भन्ने टुंगो लागि सकेको भने छैन् ।
समानुपातिक प्रणालीबाट दुई सीट जितेको राप्रपाले पहिलोपटक गण्डकी प्रदेशसभा प्रवेश गरेको थियो । ‘हामीलाई प्रदेशबाट बाहिरीने निर्देशन आएको छ’ गुरुङ भन्छन । केन्द्रको राजनीति समिकरण उथलपुथल हुने संकेत पाएपछि मन्त्री गुरुङ शुक्रबार संघिय राजधानी पुगेका थिए । शनिवार हिउ“सो पोखरा फर्किएका हुन् ।
मुख्यमन्त्री खगराज अधिकारीले राप्रपा सरकारबाट बाहिरीने विषयमा आफूलाई कुनै जानकारी नआएको बताउदै यदी राप्रपा सरकारबाट बाहिरीएमा संविधान र विधानअनुसार अगाडि बढ्ने बताए । एमाले संसदीय दलका नेता खगराज अधिकारीले सरकारको नेतृत्व गरेका छन् । उनलाई माओवादी केन्द्र र राप्रपाको साथ थियो ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउनको लागि ३१ सांसदको आवश्यकता पर्छ । एमालेका २२, माओवादी केन्द्रका ८ र राप्रपाका २ सांसद गरी ३२ सांसदको समर्थनमा एमाले नेतृत्वमा सरकार बनेको थियो । स्वतन्त्र सांसदसहित संसदमा सहभागी ४ दलमध्ये सवैभन्दा ठूलो दलको रुपमा का“ग्रेसको २७ सीट रहेको छ । नया सत्ता समिकरण अनुसार का“ग्रेस र माओवादी मिलेर सरकार बन्नेछ । दुई दल मिल्दा ३५ सांसद पुग्छन् । गण्डकीमा मुख्यमन्त्रीसहित एमालेले चार वटा मन्त्रालयको नेतृत्व गरेको थियो भने, माओवादीले दुई र राप्रपाले एउटा मन्त्रालयको नेतृत्व लिएका थिए ।
