गल्याङमा गर्ने भनिएको महोत्सव विवादमा

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको गल्याङमा गर्ने भनिएको महोत्सव विवादमा परेको छ । चैत्र २४ देखि बैशाख ३ सम्म गल्याङ जेसिसको आयोजना गर्ने भनिएको महोत्सव विवादमा परेको हो ।
गल्याङ उद्योग वाणिज्य संघ र गल्याङ चेम्बर अफ कमर्सको संयुक्त बैठक बसेर गल्याङमा कुनै पनि हालतमा महोत्सव गर्न नदिने निर्णय भएको भन्दै आइतबार ज्ञापन पत्र बुझाइएको छ । आर्थिक मन्दीको असर, क्रय शक्ति नभएको एसईई तथा अन्य परिक्षा भएको अवस्थामा सरोकारवालासँग छलफल नै नगरी महोत्सवको घोषणा गरिएको भन्दै गल्याङ नगरपालिका, वडा नम्बर तीन, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा गल्याङ प्रहरी चौकीमा ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापन पत्रमा चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख ३७ हजार पुगेको भन्दै महोत्सवले थप व्यापार घाटा लाग्ने दावी गरिएको छ । आर्थिक मन्दी र बढ्दो व्यापार घाटा कम गर्न पहल गर्नुपर्नेमा थप बाहिर निर्यात गर्ने गरी महोत्सव गर्न लागेको आरोप ज्ञापनपत्रमा लगाइएको छ ।
ज्ञापन पत्र बुझ्दै गल्याङ नगर उपप्रमुख हेमा न्यौपानेले सबै पक्षसँग छलफल गरि निर्णय गर्ने बताइन् । यस्तै, प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले प्रतिकुल समयमा महोत्सव गर्दा सबै सरोकारवालासँग समन्वय गर्नुपर्ने बताए ।
ज्ञापनपत्र बुझाउँदै गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्यालले एसईई परीक्षा, सिटिइभीटीको परिक्षा तथा स्नातक पहिलो वर्षको परिक्षाको विचमा महोत्सव गर्दा भविश्यका कर्णधार विद्यार्थीहरुलाई समेत नोक्सान पर्ने बताए । गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले कुनै पनि हालतमा महोत्सव गर्न नहुने भन्दै बेलैमा रोक्नपर्ने बताए । ।
ज्ञापन पत्र बुझाएपछि गल्याङ उद्योग वाणिज्य संघ र गल्याङ चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति निकालेर समाज सेवा गर्ने संस्थाले प्रतिकुल समयमा महोत्सवको आयोजना गर्नु कुनै कोणबाट पनि उपयुक्त नहुने बताएको छ । गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्याल र गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा आफुहरुको अनुरोधलाई कमजोरी ठानी जबर्जस्ती महोत्सव गर्न खोजिए स्थानीय व्यापारी, व्यवसायी प्रतिरोधमा उत्रने र त्यसबाट आउने परिणामको जिम्मेवार सम्बन्धित पक्ष हुने बताइएको छ ।
यसैवीच, गल्याङ जेसिसका अध्यक्ष ऋषि बस्यालले कसैले विरोध गर्दैमा महोत्सव नरोकिने बताए । उनले सरोकारवाला पक्षसँग छलफल गरि महोत्सवको स्वरुप केही परिवर्तन गर्न सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *