पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ मा रहेको गण्डक पावर हाउस मर्मत नहुँदा मासिक ८ करोड २८ लाख रुपैयाँ रकम घाटा हुँदै आएको छ । गण्डक जल विद्युत केन्द्र सूर्यपुराको २ वटा टरवाईन लामो समयदेखि बिगरिएको हुँदा मर्मत हुन सकेको छैन ।
१५ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको उक्त पावर हाउसमा ५/५ मेगावाटको ३ वटा टरवाईन जडान गरिएको छ । जसको म्याद २५ वर्ष रहे पनि जडान भएको ४४ वर्ष भइसकेको छ । उक्त पावर हाउसमा जडित टरवाईन नम्बर १ पूर्ण रूपले ध्वस्त भैसकेको छ भने टरवाईन नम्बर ३ पनि अहिले बिग्रेर उत्पादन बन्द रहेको अवस्थामा छ ।
टरवाईन नम्बर २ मात्र सञ्चालनमा छ । यसबाट ५ मेगावाट विद्युत् उत्पादन हुनुपर्नेमा नहरमा पानीको अभाव र टरवाईनको वृहद मर्मत हुन नसकेकाले हाल ३.५ मेगावाट मात्र विद्युत् उत्पादनमा झरेको विद्युत् केन्द्रले जनाएको छ । प्रतिघण्टा १५ मेगावाट विद्युत् उत्पादन हुनुपर्ने ठाउँमा ३.५ मेगावाट मात्र विद्युत् उत्पादन भएकाले मासिक ८ करोड २८ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको तथ्यांकमा उल्लेख छ । जसका कारण बार्षिक ९९ करोड ३६ लाख रुपैयाँ घाटा भइरहेको छ ।
नेपाल भारतको गण्डक सम्झौता अन्तर्गत भारत सरकारले यो विद्युत् उत्पादन केन्द्र निर्माण गरेको थियो । सन् १९६६ सालमा शुरु भएको पावर हाउस प्रोजेक्ट सन १९७९ मा निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको हो । भारत र नेपालको सम्झौता अनुसार पावर हाउस १९८१ सालमा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । २५ वर्षमा मर्मत गर्नुपर्ने पावर हाउसलाई अहिले ४४ वर्ष पुग्दा पनि मर्मत गरी सञ्चालन गरिँदै आइएको छ । जीर्ण भैसकेको पावर हाउसलाई जसोतसो मर्मत र टालटुल गरी सञ्चालन गरिँदै आइएको केन्द्रले जनाएको छ । टरवाईन ३ सञ्चालनमा निरन्तर समस्या आइरहने गर्दा विद्युत् उत्पादन बढाउन पनि सकिएको छैन ।
