अवतरण गर्ने क्रममा आज हेलिकोप्टर दुर्घटनामा परेको छ । हेलिकोप्टर हिउँमा चिप्लिएर हो वा अन्य केही प्राविधक कारण हो भन्नेबारे एकिन जानकारी आएको भने छैन् । आरोहीहरुका लागि खाद्यान्न बोकेर धौलागिरी आधारशिविरका लागि उडेको हेली एभरेष्टको ९ एन एएनबी हेलिकोप्टर अवतरण गर्ने क्रममा ठोकिएको हो ।
अवतरणको क्रममा सन्तुलन गुमाउँदा पछाडिको भाग ठोकिएको बताइएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार ठोकिएको पछाडिको भागमा क्षति पुगेको छ । पाइलट प्रिया अधिकारी सकुशल छन् । हेलिकोप्टर विहान ११ बजेर ५ मिनेटमा अवतरण गर्न लागेको थियो ।
हेली एभरेष्टका चिफ एक्जुकेटीभ सिताराम सापकोटाका अनुसार म्याग्दीको इटालियन क्याम्पबाट आधारशिवरका लागि उडेको हेलिकोप्टरमा क्षति पुगेको खबरपछि पोखराबाट एयर डाइनास्टीको हेलिकोप्टर उद्धारका लागि पठाइएको छ । क्याप्टेन अधिकारीलाई डाइनास्टीको हेलिकोप्टरमा उद्धार गरेर फर्काइएको नागरिक उड्डययन प्राधिकरणले जनाएको छ । यो कम्पनीसँग हाल ३ वटा हेलिकोप्टर रहेका छन् ।
