गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप सोमबारबाट सुरु हुने भएको छ । उक्त गेम दुई दिनसम्म संचालन हुने आयोजक प्रदेश खेलकुद परिषदले जनाएको छ ।
पोखरा रंगशालामा सुरु हुने गेमको उद्घाटन गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले गर्नेछन् । प्रतियोगितको सम्पूर्ण तयारी पुरा भएको परिषदका सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिए । सुरक्षाका लागि प्रदेश प्रहरी, मेडिकलका लागि नेपाली सेना पश्चिम पृतना तथा मार्चपास व्यवस्थापनका लागि शसस्त्र प्रहरी मुक्तिनाथ बाहिनीलाई जिम्मेवारी दिएको उनले बताए ।
प्रतियोगितामा सहभागिताका लागि ११ जिल्लाका विभिन्न ६ खेलका ७ सय २० खेलाडी पोखरा आइपुगेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले बताए । विद्यालयस्तरिय छात्र÷छात्रा राष्ट्रपति कपमा मार्शल आर्टतर्फ उशु, तेक्वान्दो र कराँते, टिम गेमतर्फ एथलेटिक्स, भलिबल र कव्वडीका खेल सञ्चालन हुनेछन् ।
दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताबाट खेलाडी छनोट गरी यहि बैशाख १५ र १६ गते काठमाण्डौमा सञ्चालन हुने १३ औं राष्ट्रिय राष्ट्रपति कपमा सहभागिता जनाउने परिषदले जनाएको छ । छनौट हुन सफल खेलाडीलाई एक दिने बन्द प्रशिक्षणमा राखिने छ भने प्रदेशको टिम १४ गते काठमाण्डौ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
