गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड आजदेखी सुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले आगामी बजेटमा खेलकुदको बजेट बढाउन पहल गर्ने बताए । उनले गाउँ–गाउँमासमेत खेलकुदमा बढेको सक्रिय सहभागिताले आफूलाई निकै हौसला मिलेको उल्लेख गर्दै खेलकुदले सबैलाई एक ठाउँमा उभिन भूमिका खेलेको बताए ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मुस्ताङबाहेक १० जिल्लाका ७ सय २० जना खेलाडीले विभिन्न ६ वटा खेलमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो दिनमा उक्त प्रतियोगिताको १०० मिटर दौड छात्रतर्फ नवलपुरका ताराप्रसाद थनेत ११.०६ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जित्न सफल भएका छन् । यसैगरी तनहुँका भिमबहादुर थापाले ११.०३ सेकेण्ड दुरी पार गर्दै रजत र तनहँुकै प्रेमबहादुर थापाले १२.०३ सेकेण्डमा दौड पुरा गरी कास्य पदक जिते ।
१०० मिटर दौड छात्रातर्फ भने एन्जल अधिकारी कास्की १४.०१ सेकेण्ड, लक्ष्मी परियार लम्जुङ १४.०३ सेकेण्ड, अप्सरा वि.क नवलपुर १४.०४ सेकेण्डमा दौड पुरा गर्दै क्रमश स्वर्ण, रजत र कास्य पदक जितेका छन् । यसैगरी ४०० मिटर दौड छात्रातर्फ चन्द्रकला बराल स्याङजा १ मिनेट ०८ सेकेण्ड, अनुस्का अधिकारी कास्की १ मिनेट ११ सेकेण्ड, सोमाया कुमाल तनहुँ १ मिनेट १३ सेकेण्डमा दौड पुरा गरी क्रमश स्वर्ण, रजत र कास्य पदक हात पारे भने ४०० मिटर दौड छात्रतर्फ प्रकाश महतो नवलपुर ५४.०२ सेकेण्ड, विनित भुजेल लम्जुङ ५५.०६ सेकेण्ड, नितेश शाही लम्जुङ ५६.०० सेकेण्डमा पुरा गर्दै क्रमश स्वर्ण, रजत र कास्य पदक जिते ।
१५०० मिटर दौड छात्रातर्फ नारायणी भण्डारी कास्की ५ मिनेट २६ सेकेण्डमा दौड पुरा गरी स्वर्ण, एलिना नेपाली गोरखा ५ मिनेट ४० सेकेण्डमा दौड पुरा गरी रजत, शर्मिला वि.क बाग्लुङ ५ मिनेट ४१ सेकेण्डमा पुरा गरी कास्य पदक जिते । त्यस्तै बाग्लुङका बादल कार्कीले १५०० मिटर दौड छात्रतर्फ ४ मिनेट २६.३ सेकेण्ड दौड पुरा गरी स्वर्ण पदक जितेका छन् भने कास्की तेन्जन रोक्का २७.०२ सेकेण्ड दौड पुरा गरी रजत पदक जित्दा तनहुँका दिलिप वि.क ४ मिनेट २८.५९ सेकेण्ड दौड पुरा गरी कास्य पदक जितेका छन् ।
यसैगरी ४.४ रिले दौड छात्रतर्फ नवलपुर प्रथम, कास्की दोस्रो, र तनहुँ तेस्रो भएको छ । छात्रातर्फसमेत नवलपुर, कास्की र तनहुँ क्रमश पहिलो दोस्रो र तेस्रो हुन सफल भएको छ । उद्घाटन कार्यक्रममा भएको मार्च पासमा गोरखा प्रथम, नवलपुर दोश्रो र कास्की तेश्रो भएका छन् ।
