गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनका लागि दावी पेश हुदै छ । सरकार गठनका लागि अहिले गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादी छलफलमा छन् । गण्डकी प्रदेश सरकारको नेतृत्व कांग्रेस–माओवादीले आलोपालो गर्ने सहमति भए पनि पहिलोचरणमा कांग्रेसले नेतृत्व लिने केन्द्रिय सहमति भएसंगै प्रदेशमा छलफल सुरु भएको हो ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तीन दिनको समय दिएर मंगलबार सरकार गठनका लागि दावी पेश गर्न आह्रवान गरेका थिए । उनले आह्रवान गरेको समय आज ४ बजे सकिदैछ । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन आह्रवान गरिएको हो । एकल सरकार बन्ने सम्भावना नभएपछि उपधारा दुईले दुई या दुई भन्दा बढी दलको सहभागीताले बहुमतको सरकार दावी गर्न सकिने व्यवस्था छ । सोही अनुसार कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त हुनेछन् । उनलाई मुख्यमन्त्री प्रस्ताव गर्ने गरी दावी पेश हुन लागेको हो ।
६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्छ । कांग्रेसका २७ सीट छन् । मंगलबार नै सरकार गठन गर्ने तयारी गरेको कांग्रेसले माओवादी र कांग्रेसबीचको विवादका कारण सरकार गठनमा ढिलाई भएको थियो । केन्द्रबाट मुख्यमन्त्रीको टुंगो लागेपछि मन्त्रालको भागवण्डा पनि केन्द्रबाटै गरिने स्रोतले जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गण्डकी प्रदेशमा ७ मन्त्रालय छन् । कांग्रेसले मुख्यमन्त्री पाएपछि माओवादीले ३ वटा मन्त्रालय पाउनुपर्ने दावी गरेको छ । सभामुखसहित माओवादीका प्रदेशमा ८ सांसद छन् । एकीकृत समाजवादीको पनि गण्डकीमा सहभागीता छ ।
वैशाख ९ गते मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त नगरेपछि गण्डकी सरकार ढलेको थियो । राप्रपा र माओवादीको समर्थनमा एमालेका खगराज मुख्यमन्त्री नियुक्त भएका थिए । गण्डकीमा एमालेका २२ सांसद छन् भने, राप्रपाका २ सांसद रहेका छन् ।
