कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीमा नियुक्त

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई बिहीबार संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यस प्रदेशमा नयाँ सरकार गठनका लागि आजै दावी पेश गरिएको थियो । पाण्डे माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । गण्डकीमा सत्ता साझेदार दलबीच आलोपालो सरकारको नेतृत्व लिने सहमति अनुसार पहिलो चरणमा पाण्डेले नेतृत्व गर्नेछन् । ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्छ । संसदमा सवैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७ सीट छ ।
सभामुखसहित माओवादीको ८ सीट रहेको छ भने, स्वतन्त्र सांसद मनाङे पनि गठबन्धनमा छन् । प्रदेश प्रमुखलाई मुख्यमन्त्री दावी गर्दै ३५ जनाको हस्ताक्षर बुझाइएको थियो । प्रदेश प्रमुख गुरुङले बहुमतले सरकारको दावी गरेपछि मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गरिएको बताए । यसअघि पुस २५ मा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । माओवादी र राप्रपाको समर्थनमा संविधानको सोही धारा टेकेरे उनी मुख्यमन्त्री भएका थिए । राष्ट्रपति निर्वाचनलाई लिएर बनेको नयाँ सत्ता समिकरण अनुसार सरकारबाट माओवादी बाहिरीएपछि अधिकारी नेतृत्व सरकार अल्पमतमा परेको थियो । अधिकारीले वैशाख ९ मा विश्वासको मत प्राप्त नगरेपछि गण्डकीमा नयाँ सरकार गठनको प्रकृया अगाडि बढेको हो । सोही अनुरुप प्रदेश प्रमुख गुरुङले तीन दिनको समय दिएर नयाँ सरकार गठनका लागि बहुमतले दावी पेश गर्न मंगलबार आह्रवान गरेका थिए । नवनियुक्त मुख्यमन्त्रीलाई शुक्रबार शपथ खुवाउने तयारी रहेकाे प्रदेश प्रमुखकाे कार्यालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *