गण्डकी प्रदेश सरकारले सडक व्यवस्थित गर्न प्रदेश मातहत रहेका सडकहरुको गुरुयोजना बनाउने भएको छ ।
प्रादेशिक सडकहरुको गुरुयोजनापछि सडक पूर्वाधार निर्माणको योजना तथा मर्मतसम्भारका लागि सहयोगी हुने भौतिक पूर्वाधार विकास तथा यातायात व्ययवस्था मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मन्त्रालयमा पदभार ग्रहण गर्दै प्रादेशिक सडक सञ्जालको गुरुयोजना बनाउनका लागि प्राविधिक समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे ।
पूर्वाधार विकास निर्देशनालयका निर्देशकको संयोजकत्वमा रहेको समितिले अध्ययन गरेर दुई महिनाभित्र गुरुयोजनाको खाका मन्त्रालयमा बुझाउनेछ ।
समितिमा मन्त्रालयका योजना प्रमुख, जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख सदस्य रहनेछन् ।
प्रादेशिक सडकलाई व्यवस्थित गर्नका लागि गुरुयोजना बनाउन लागिएको मन्त्रालयले जनाएकाे छ । सडक निर्माण, मर्मत, सुधार, स्तरोन्ति तथा यातायातको पहुँचको अवस्था र पुनर्निर्माण गर्नुपर्ने सडकको माग संकलन, सडक यातायातसँग सम्बन्धित आवश्यक सेवा तथा सुविधाका लागि गुरुयोजनाले सहयोग पुग्ने बताइन्छ ।
सचिव तुलसीराम भट्टराईले भने, ‘प्रदेश सरकार अन्तर्गत रहेका प्रादेशिक सडक सञ्जालको गुरुयोजना निर्माणका लागि प्राविधिक समिति गठन गर्ने दीर्घकालिन महत्वको निर्णय गरेका छौँ । गुरुयोजना पछि प्रदेश भित्रको सडक तथा यातायात क्षेत्रको योजना बनाउन, सडक मर्मत सम्भार तथा प्राथमिकिकरणका लागि सहयोग पुग्नेछ ।’
पदवहालीपछि मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै मन्त्री जुग्जालीले जनताका आवश्यकतालाई पूरा गर्ने गरी विकास निर्माण अघि बढाइने बताए । पूर्वाधार क्षेत्रको विकासबाट मात्र देशको समृद्धि हुने भएकाले भौतिक पूर्वाधार मन्त्रालयको ठूलो जिम्मेवारी रहेकाले इमानदारीपूर्वक काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए ।
