गण्डकीमा घट्यो बजेटको सिलिङ

Share this post :

Facebook
Twitter
WhatsApp

आगामी आर्थिक वर्ष २०८०–८१ को लागि गण्डकी प्रदेशमा बजेट सिलिङ घटेर आएको छ । संघिय सरकारले चालु आर्थिक वर्षको तुलनामा यसवर्ष बजेट घटाएर सिलिङ पठाएको छ । चालु आवमा ३५ अर्व ९० करोडको बजेट ल्याएको गण्डकीमा आगामी आवको लागि ३३ अर्व ८५ करोडको सिलिङ प्राप्त भएको हो ।

सरकारले कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याउने गरी तयारीमा जुटेको छ । कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन र सिँचाइ, प्रदेश गौरवका आयोजना, आयोजना सम्पन्नको क्रममा रहेका र रकम अभाव भएका योजनालाई जोड दिएको प्रदेश नीति तथा योजना आयोगले जनायो ।

सरकारले गत शुक्रबार विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकता ल्याइसकेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित यतिबेला सातै वटा मन्त्रालय बजेट तयारीमा जुटेका छन् । बजेटको सिलिङ घटेका कारण सबै मन्त्रालयमा दवाव छ ।

जेठ १५ मा संघीय सरकारले बजेट सार्वजानिक गरेपछि प्रदेशलाई दिइने ससर्त अनुदान घटेमा उक्त सिलिङ अझ घट्ने आर्थिक मामिला मन्त्रालयका सचिव विष्णुप्रसाद शर्माले बताएका छन् । आगामी बजेटका लागि सांसद र उपभोक्ताबाट पूर्वाधार विकास (सडक)का योजना बढी माग रहेको उनले बताए । संघीय सरकाले समानीकरणको अनुदान पनि कटौती गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

मालपोतबाट घरजग्गा रजिष्ट्रेसनवापत उठ्ने राजश्व न्यून हुदा प्रदेश सरकारलाई बजेट बनाउन पनि समस्या रहेको उनले सुनाए । प्रदेशको सबैभन्दा ठूलो बजेट रहने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा आगामी वर्षको लागि ११ अर्बको बजेट सिलिङ तोकिएको छ । बहुवर्षे योजनाका लागि मात्रै ९ अर्बभन्दा बढी बजेट चाहिने अर्थ मन्त्रालयले जनाएको छ । आन्तरिक राजश्व सोचे अनुसार उठाउन नसकिएको र पुँजीगत बजेट खर्च गर्न पनि नसकिएको सचिव शर्माले बताए । मालपोतमा जम्मा ४६ प्रतिशत र समग्ररुपमा ५० प्रतिशत राजश्व संकलन भएको तथ्यांक अर्थ मन्त्रालयसँग छ ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले चालु आवमा ६० प्रतिशत राजश्व संकलन गर्ने अनुमान गरेको सुनाए । आगामी वर्षको लागि चालु आवको तुलनामा ६ प्रतिशत बजेट घटेर ल्याइने भए पनि स्वास्थ्य क्षेत्रको बजेट भने नकाटिएको उनले बताए । टुक्रे योजना (सडक, खानेपानी, स्वास्थ्य, सिँचाइ, मठमन्दिर, सामुदायिक भवन)मा बजेट माग भए पनि अनुत्पादक क्षेत्रमा लगानी नगर्ने सरकारको योजना छ ।

आगामी वर्षमा अनुदानको रकमसमेत कटौती गर्ने तयारी गर्दै योजना नतोकी एकमुष्ट बजेट राखिने अबण्डा कार्यक्रम समेत हटाउने तयारी सरकारले गरेको देवकोटाले बताए । देवकोटाले सरकारले बजेट ल्याउँदा आन्तरिक ऋण सम्बोधन गरे पनि यथार्थमा ऋण भने नलिएको बताए । आयोगले एकै क्षेत्रमा मात्र बजेट नराख्न सरकारलाई सुझाव दिएको जनाएको छ ।

योजना आयोगका सदस्य सुवास अधिकारीले प्रदेशको पञ्चवर्षीय आयोजना, दिगो विकासका १७ वटा लक्ष्य, मध्यकालीन खर्च संरचना र प्रदेशमा उठेको राजश्वलाई आधार मान्दै बजेट निर्माण गर्नुपर्ने बताए । उनका अनुसार बजेट वितरणका लागि आयोगले क्षेत्रगत सीमा (थ्रेसहोल्ड) बनाउनुपर्छ ।

समानुपातिक र समावेशीको आधारमा बजेट वितरण हुनुपर्ने उनको धारण छ । ‘अनुत्पादक क्षेत्र (युवा क्लव, आमा समूह, सामुदायिक भवन लगायत)मा बजेट राख्नु हुँदैन’ उनले भने, ‘सिँचाइ, खानेपानी, जलाधार, भू–संरक्षणमा जोड दिनुपर्छ । योजनाको स्रोत सुनिश्चित गरेर मात्र बहुवर्षीय योजना बनाउनुपर्छ ।’ उनले यसअघिका सरकारले स्रोत सुनिश्चित नगरी योजना बहुवर्षे बनाउँदा अहिलेको सरकारलाई दायित्व बढेको र नयाँ योजना थप गर्न कठिनाई भएको बताए । बजेट बनाउँदा तीन तहकै सरकारसँग समन्वय गर्नुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *