‘समृद्ध आँधीखोला’ बनाउने अभियानमा छौ

Share this post :

Facebook
Twitter
WhatsApp

‘काम धेरै गर्ने प्रचारमा आउन नचाहने’ पालिकाकोरुपमा चिनिन्छ स्याङ्जाको आँधीखोला गाउँपालिका । भौतिक विकाससँगै सामाजिक, आर्थिक, कृषि क्षेत्रमासमेत फड्को मारेको छ । आँधीखोलाको पहिचान बोकेको यस पालिकाले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिएको छ । युवा र महिलालाई लक्षित गरी रोजगारीका कार्यक्रम पनि अगाडि बढाएको छ । विदेशीनुको पीडालाई सम्बोधन गर्दै पालिकाले गाउँमा नै लगानीको वातावरणसमेत सिर्जना गरेको छ । प्रस्तुत छ, स्याङ्जाको आँधीखाला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलसँग गरिएको कुराकानीको संक्षिप्त अंश :

– नमस्कार प्रतिपत्र अनलाइनमा यहाँलाई स्वागत छ ।
धन्यवाद ।

– गाउँपालिकाका गतिविधी के कसरी अगाडि बढीरहेका छन् ?
उत्तर : नियमित प्रक्रियाअनुसार काम गरेका छौ । अव छिट्टै अगाामी वर्षको लागि नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने छ । यसको तयारीमा जुटेका छौ । नीति तथा कार्यक्रम म स्वंम लेख्न लागेको छु । असारसम्म योजनाको काम पनि सकानुछ । पुँजीगत बजेट खर्च गर्नु छ । यसतर्फ पनि नियमितरुपमा लागी परेका छौ ।

प्राकृतिक श्रोत तथा वित्त आयोगको गत आव २०७८-७९ को अवधिमा पालिकाबाट सार्वजनिक सेवा प्रवाह विकास निर्माण लगायतका तोकिएका सूचकहरुको मापदण्डमा हाम्रो गाउँपालिका स्याङ्गजामा प्रथम र नेपाल भरिका ७५३ पालिकामा ९ वौ स्थान प्राप्त गर्न सफल भयो । त्यस्तै स्थानीय तहको स्वमूल्यांकन र वित्तिय उत्तरदायित्वको मूल्यांकनमा उत्कृष्ठ अंकका साथ स्याङ्गजा जिल्लामै प्रथम स्थान हाँसिल गरेको छ ।

गाउँपालिकाको गौरबको आयोजनाका रुपमा रहेका पालिकाको मुख्य प्रशासनिक भवन गत आव २०७८-७९ मा निर्माण सम्पन्न गरी निर्माण व्यवसायी ठेकेदारबाट हस्तान्तरणमार्फत प्राप्त गरी सुविधासम्पन्न पालिका भवनबाट सेवा प्रवाह सुरुवात गरिएको । भवनकाे विविधतरूपमा उद्घाटन पनि भयाे ।

– चालु आवको आँधीखोला गाउँपालिकाको बजेट खर्च कस्तो छ ?
एघारौ गाउँसभाबाट कुल ६० करोड ५८ लाख २९ हजार पारित भएको थियो । वैशाख मसान्तसम्म पुँजीगत खर्च ४०.४० प्रतिशत खर्च भएको छ । चालुतर्फ भने ७०.३ प्रतिशत खर्च भएको छ । यो सशर्त अनुदानसहित हो । चालु र पुँजी गरेर जम्मा ५६.२५ प्रतिशत बजेट खर्च भएको छ ।

– कार्यपालिकाको वैठक नियमित बस्नु भएको छ ? अहिलेसम्म कतिवटा वैठक बसे ?
हजुर हामी नियमित बैठक बसेका छौ । अहिलेसम्म ९८ औँ वैठक सम्पन्न भए । सामान्यतया प्रत्येक महिनाको ६ गते कार्यपालिकाको वैठक बस्ने गर्छौ ।

– आव २०७९-८० मा गाउँपालिकाले के कस्ता कार्यक्रम सन्चालनमा ल्यायो ?
विकास निर्माणका योजना, बहुक्षेत्रीय पोषण कार्यक्रम, कृषिका कार्यक्रम (अनुदान, युवा लक्षित कार्यक्रम) संचालन गरिएको छ । शिक्षाका कार्यक्रमलाई पनि प्राथमिकता दिएका छौ । पालिकाभित्र ३ वटा विद्यालयमा छात्रा निवासका भवन निर्माणाधीन अवस्थामा छन् । खेलकुदका कार्यक्रम पनि अगाडि बढाएका छौ । महिला, किशोरी, बृद्धबृद्धा लक्षित कार्यक्रम छन् । आँधीखाेला पर्यटकीरूपमा अगाडि छ । पर्यटनका कार्यक्रमलाई पनि जाेड दिएका छाै ।

– यस आर्थिक बर्षमा गाउँपालिकाको बजेटमा के कस्ता कार्यक्रम समाबेश गरिएको छ ?
विकास निर्माण (सडक, विद्यालयका भवन, कोल्डस्टोर, सामुदायिक भवन लगायत) शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, युवा, महिला र बालबालिकाका कार्यक्रम समेटिएका छन् ।

– न्यायिक समितिमा कस्ता मुद्धा पर्छन् ?
उत्तर : न्यायिक समिति भनेको जनताको एउटा भरोसा गर्ने ठाउँ हो । महिलाले मात्र हैन न्यायको खोजीमा पुरुष पनि धाउने गर्छन् । घरेलु हिँसा र माना चामलका मुद्दा पुरुषका पनि आउँछन् । हामी मिलापत्रबाट टुंगो लगाउँछौ । कसैको पनि बनेको घर नविग्रियोस भनेर सम्झाउ बुझाइ मिलाएर पठाउने गरेका छौ ।

नेपालको संविधान २०७२ र स्थानीय सरकार संचालन ऐन २०७४ र अन्य प्रचलित कानूनको मर्म र भावना अनुसार मेलमिलापको माध्यामलाई विवाद निरुपणको प्रमुख माध्याम बनाउँदै लगिएको छ । वैशाखसम्म ४७ (१) अन्तरगत ४ र ४७ (२) अन्तरगत १० वटा उजुरी परेका छन् । ४७ (२) का मिलापत्रबाट ४ वटा र ४७ (१) का मिलापत्रबाट १० वटा मुद्दा फस्र्यौट गरेका छौ । फछ्यौटको अन्तिम चरणमा रहेका जम्मा ५ वटा मुद्दा छन् ।

– गाउँपालिकाको आन्तरिक आम्दानीको अबस्था कस्तो रहेको छ ?
उत्तर : राज्यको पुर्नसंरचना पश्चात स्थानीय तहको मार्ग दर्शकको रुपमा रहेको स्थानीय सरकार संरचना ऐन, २०७४ ले प्रदान गरेको कर शेवा शुल्क लगाउने संकलन गर्न पाउने अधिकारको परिधिभित्र रही गाउँसभाद्वारा निर्धारित दररेटमा अनलाईनमा प्रणालीमार्फत कर शेवा शुल्क संकलन गरिदै आईएको छ । चालु आव २०७९-८० मा ८४ लाख २८ हजार ५ सय आन्तरिक आय संकलन गर्ने लक्ष्य रहेकोमा बैशाख मसान्तसम्म ८२ लाख ५५ हजार ९ सय ९० राजश्व संकलन गरिएको छ । जुन वार्षिक लक्ष्यको ९७.९५ प्रतिशत प्रतिशत प्रगति हुन आउँछ । आन्तरिक राजश्व संकलन कार्यलाई पारदर्शि बनाउनको लागि अनलाईन प्रणालिलाई समय सापेक्ष अध्यावधिक गरिनुका साथै आय विश्लेषण समिक्षा र अनुगमन कार्यलाई निरन्तरता दिईएको छ ।

– जनप्रतिनिधिको अनुभव बताइदिनु न ?
जनप्रतिनिधि भएर पाइला टेकेको वैशाखामा १ वर्ष पुग्यो । बाहिर बसेर बोल्नु र जनप्रतिनिधि भएर काम गर्नुमा धेरै भिन्नता छ । तर, पालिकाको नीति तथा कार्यक्रम र बजेट बुझेर काम गर्ने हो भने समस्या रहेनछ । यहाँ आइपुग्दा जनताका अपेक्षा धेरै छन् । हामी जनताको घरदैलोको सरकार भएकाले पनि सानातिना माग सम्बोधन गर्नुपर्छ । जनताका माग त्यति ठूला पनि छैनन् । खानेपानी, विजुली, कुलो, सिँचाई लगायतका माग छन् । सवैलाई सम्बोधन गरेर अघि बढाएको छु । विशेषगरी मतदाताको अपेक्षा र चुनावको समयमा गरिएका प्रतिबद्धतालाई समेटेर अघि बढेको छु ।

– व्यस्ताका बाजुद पनि समय दिनुभएकोमा यहाँलाई धन्यवाद ।

प्रतिपत्र डटकम अनलाईन परिवारलाई पनि यो अवसरको लागि धन्यवाद व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *