संघीय सरकारले आगामी आर्थिक वर्षको लागि बजेट ल्यासकेको छ । गण्डकी प्रदेशमा ५ लाख भन्दा साना योजना पनि परेका छन् । ती योजना कार्यान्वयन नगरी केन्द्रमा नै पठाइदिने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन् । आज पोखरामा आयोजिक नगर विकास कोषको वित्त तथा क्षमता विकास प्रादेशिक कार्यशालामा बोल्दै उनले यस्ता टुक्रे योजना गण्डकीमा मात्रै १ सय भन्दा बढी रहेको बताए ।
संघियता बलियो बनाउन यस्ता साना योजना स्थानीय तहबाट नै कार्यान्वयन गर्नुपर्ने बताए । प्रदेशले साना योजना संचालन गर्यो भन्दै प्रदेश संरचनामाथि नै प्रश्न उठिरहेको बेला संघले झन् टुक्रे योजना वितरण गर्दा जनताले यो व्यवस्थामाथि नै प्रश्न उठाउने बताए । यस्ता योजनाले संघियता बलियो नबनाउनुका साथै विकासको मोडलमा पनि नजाने उनको भनाई थियो । मुख्यमन्त्रीले नगर विकास कोषसंग सहकार्य र समन्वय गरेर गण्डकीमा लगानीको वातावरण सिर्जना गर्ने बताएका छन् ।
नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले नगर विकास कोषको ऐन नै संशोधन गर्नुपर्ने बताए । पोखरा महानगर प्रमुख धनराज आचार्यले नगर विकास कोषले खानेपानीको क्षेत्रमा राम्रो काम गरेको बताए । नगर विकास कोषका सदस्य हिक्मतजंग कार्कीले पालिकासंग सहकार्य गरेर लगानी गर्न इच्छुक रहेको बताएका थिए । गण्डकीका ८५ वटा पालिकामध्ये नगर विकास कोषले २७ वटा पालिकामा मात्र लगानी गरेको छ ।