बिरुवाबाहेक स्याङ्जाका १० पालिकाले ल्याए बजेट

Share this post :

Facebook
Twitter
WhatsApp

करारका कर्मचारीलाई बर्खाष्त गर्नुपर्ने माग राख्दै कार्य पालिकाको वैठकमा विरोध भएपछि विरुवा गाउँपालिको आगामी आर्थिक वर्षको लागि बजेट ल्याउन सकेन् । आइतबार बजेट सार्वजानिक गर्ने अन्तिम दिन भए पनि यस गापाले भने कार्य पालिकाको वैठक स्थगित भएका कारण गाउँसभा संचालन गर्न नसकिएको बताएको छ । शनिवार बसेको वैठकमा बहुमत कार्यसदस्यले विरोध गरेको थिए ।

गाउँसभा मगलबार राखिने गाउँपालिका प्रमुख सूर्य कुँवरले जानकारी दिए । उनका अनुसार कानुनी व्यवस्था अनुसार स्थगित भएको ३ दिनपछि सभा बोलाउनुपर्छ । त्यसदिनमा पनि स्थगित भएमा पुनः २ दिनपछि बोलाउनुपर्ने प्रावधान छ । उनले विकास निर्माणका योजनामा कुनै समस्या नभएको बताउदै करारका कर्मचारीलाई तत्काल हटाउन नमिल्ने बताए ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार हरेक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ । सो व्यवस्था अन्तर्गत स्याङ्जाका ११ वटा स्थानीय तहमध्ये १० वटाले मात्र आगामी आवका लागि बजेट सार्वजानिक गरेका छन् । यहाँको आँधीखोला गाउँपालिकाले आगामी आवको लागि ६२ करोड ९ लाख २० हजार बजेट ल्याएको छ । जसमा चालुगततर्फ कार्यालय संचालन र प्रशासनिक खर्चमा ७ करोड ४५ लाख, आर्थिक, सामाजिक, सुशासन न्याय र समावेशीकरणतर्फ ३ करोड ५१ लाख २० हजार र पुँजीगततर्फ १३ करोड १५ लाख रहेको छ । गाउँपालिकाका अध्यक्ष विश्व पौडेलका अनुसार सशर्त अनुदानतर्फ ३७ करोड ९८ लाख रहेको छ । अध्यक्ष पौडेलले बजेटमा कृषिलाई प्राथमिकता दिएको बताए ।

यस्तै, अर्जुनचौपारी गाउँपालिकाले ४४ करोड ६९ लाखको बजेट सार्वजानिक गरेको छ । गाउँपालिका प्रमुख प्रकाश तिवारीका अनुसार चालुतर्फ २६ करोड ७६ लाख र पुँजीगततर्फ १७ करोड ९३ लाख रहेको छ । जिल्लाकै मुख्य व्यापारी केन्द्र रहेको वालिङ नगरपालिको १ अर्व ८ करोड ८९ लाख ८३ हजार बजेट सार्वजानिक गरेको छ । नगर प्रमुख कृष्ण खाँणका अनुसार चालुतर्फ ६० करोड ५६ लाख ७१ हजार र पुँजीगततर्फ ४७ करोड ३३ लाख ५१ हजार बजेट ल्याइएको छ । यसैगरी गल्याङ नगरपालिकाले ८१ करोड ४४ लाखको बजेट सार्वजानिक गरिएको नगर प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार चालुतर्फ १५ करोड ५६ लाख, सामाजिक विकासतर्फ ३६ करोड २० लाख र आर्थिकतर्फ ८ करोड ९२ लाख रहेको छ भने, पुँजीगततर्फ १५ करोड ४ लाख बजेट राखिएको छ ।

कालीगण्डकी गाउँपालिकाले ५४ करोड ५४ लाख ५४ हजारको बजेट सार्वजानिक गरेको छ । गाउँपालिका प्रमुख खिम थापाका अनुसार चालुगततर्फ ३४ करोड २६ लाख र पुँजीगततर्फ २० करोड १८ लाख रहेको छ । यस्तै, हरिनाश गाउँपालिकाले ४३ करोडको बजेट सार्वजानिक गरेको पालिका प्रमुख खिमनारायण मानान्धरले बताए । भीरकोट नगरपालिकोले ७८ करोड ८२ लाख १६ हजारको बजेट सार्वजानिक गरेको छ । प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले चालुतर्फ ९८ करोड १५ लाख १६ हजार र पुँजीगततर्फ २० करोड ७७ लाख बजेट ल्याइएको बताए । भीरकोटले ८ र हरिनासले भने असार ५ गते नै बजेट ल्याएका हुन् ।

यसैगरी फेदीखोला गाउँपालिकाले ३९ करोड ८० लाख ८० हजारको बजेट सार्वजानिक गरेको छ । चालुतर्फ २७ करोड ४३ लाख २५ हजार र पुँजीगततर्फ १२ करोड ३७ लाख ५५ हजारको बजेट सार्वजानिक गरेको छ । यस्तै, चापाकोट नगरपालिकाले पनि आइतबार ६५ करोड ६७ लाख १७ हजारको बजेट ल्याएको छ ।

पुतलीबजार नगरपालिकाले १ अर्व ४० करोड २३ लाख २८ हजारको बजेट सार्वजानिक गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । उनका अनुसार चालुतर्फ ९४ करोड ५८ लाख ८६ हजार र पुँजीगततर्फ ४५ करोड ६४ लाख ८५ हजार रहेको छ । यहाँका १० वटै पालिकाले कृषी, पर्यटन, खेलकुद, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई नै प्राथमिकतामा राख्दै बजेट ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *