पोखरामा अचाक्ली गर्मी

Share this post :

Facebook
Twitter
WhatsApp

यस्तो गर्मी त अहिलेसम्म जानकै थिइन् । दिनमा ७ चोटी नुहाए पनि उस्तै पसिना । खाना पकाउन भान्सामा टिक्नै सकिन्न् । घामले दिनभरी छतमा बसेर कपडा धुन पनि नकिन्न् । खान मन लाग्दैन् । धारामा पानी उस्तै तातो आउँछ । घरमा चिसो पानी खान्छु भन्ने हो भने फ्रिज अनिवार्य हो । यो भनाई पोखरा महानगरपालिका–९ बस्ने शान्ति क्षेत्रीको हो ।

‘३४ हजार हालेर फ्रिज किने’ शान्ति सुनाउँदै थिइन्, ‘गर्मीले ज्यान उस्तै बताउँछ, वाकवाकी लागेको छ । खानै मन लाग्दैन’ क्षेत्री भन्छिन, ‘यस्तो गर्मी पहिलोपटक अनुभव गरेको हुँ ।’ उनले तराई जादा मात्र यस्तै गर्मीको महशुस गरेको बताइन् । पोखरामा पहिलोपटक यत्ति धेरै गर्मी अनुभव पाएको सुनाइन् । पोखरामा पछिल्लोसमय अचाक्ली गर्मी भएपछि फ्रिज, पङखा र एसीको बजार पनि बढेको व्यवसायीले बताएका छन् । पीय पदार्थ (कोक, फेन्टा, फ्रुटी लगायत) दही, दुध र मोहीको व्यापार पनि बढेको छ ।

पोखरा–१७ विरौटाका दुग्ध व्यवसायी जीवन ढकालले पोखरामा गर्मी बढेसंगै दुध, दहीको माग पनि बढेको बताए । ‘आइसक्रिमको पनि माग बढेको छ’ उनले भने, ‘डेलीभरी बढी गर्नुपर्छ । गर्मीले पसलमा आउने भन्दा घरमा नै ल्याइदिए हुन्थ्यो भन्ने ग्राहक बढे ।’ अघिल्ला वर्ष यही समयमा खपत हुने भन्दा दुध, दही र आइसक्रिय यस वर्ष बढी विक्री भएको उनको अनुभव छ । व्यवसायी नवीनराज बरालले गर्मी बढेपछि पोखरामा पंखा र फ्रिजको पनि माग बढेको बताए । ‘समय अनुसार माग बढेपछि काम एउटा व्यापार अर्को गर्नुपर्ने अवस्था छ’ उनले भने ।

गर्मीको समय मात्रै पोखरामा दैनिक ३ हजार हाराहारीमा पंखा विक्री हुने गरेको पोखरा इलेक्ट्रोनिक व्यवसायी संघका पूर्व अध्यक्ष ददीराम दाहालले जानकारी दिए । ‘आर्थिक संकटले व्यवसायलाई हानेको छ’ उनले भने, ‘फ्रिजको माग भए पनि त्यति ठूलो छैन् । पुराना मर्मत गर्ने र काम चलाउने ग्राहक बढी छन् ।’ उनले विगतका वर्षमा भन्दा यसवर्ष एसीको माग बढी भएको बताए ।

पोखरामा मात्रै ८ सयदेखी एक हजारसम्म इलेक्ट्रोनिक पसल छन् । यहाँबाट पर्वत, बाग्लुङ, स्याङ्जा, म्याग्दी, तनहुँ र गोरखा लगायतका क्षेत्रमा विक्री हुने गरेका छन् । ‘ग्राहक पोखराका लोकल मात्र होइन, अन्यत्रका बढी छन्’ उनले भने । बजारका पसलमा दैनिक ८ देखी २० वटासम्म पंखा विक्री हुने गरेको दाहालले बताएका छन् ।

गर्मी छल्न फेवा किनार र सडकका चौतारा
बस्नको लागि ठाउँ छ । घुम्नको लागि पनि उस्तै फराकिलो ठाउँ । टहलपुरे घाम लागे पनि फेवा किनारमा चिसो हावा चल्छ । वरीपरी पानीपुरी, चटपट र चिया दुनोट पनि पाइने । पीय पदार्थको पनि व्यवस्था । केही दिनदेखी पोखरामा गर्मी ह्रवात्तै बढेसंगै फेवा किनार र यस आसपासका चौतारीमा शितल बस्न आउनेको संख्या बृद्धि भएको छ । अहिल्ला महिनामा खाली रहने चौतारा र किनार अहिले भरीभराउ छन् । गर्मीले घरमा बस्न नसकेपछि फेवा किनारमा आएर शितल बस्ने गरेको पोखरा–६ लेकसाइडका इन्द्र भण्डारीले बताए ।

पर्यटन व्यवसायी भण्डारी भन्छन, ‘छहारीमा बस्दै व्यापार चलाएको छु ।’ घुम्न आउनेहरुको पनि उत्तिकै भीड छ । सडक आसपासमा रहेका चौतारी पनि यत्तिबेला भरिएका छन् । पोखरा–७ का माधव क्षेत्री भन्छन, ‘गर्मीले ढलान तातेर घरभित्र बस्न सकिदैन । समय विताउने ठाउँ अहिले चौतारी हो ।’ यसो त, गर्मी छल्न आउनेको संख्या थपिदै गएपछि पोखराका कृत्रिम पुल पनि भरिभराउ छ । जल तथा मौसम विज्ञान कार्यालय पोखराले २३ वर्षपछि अत्याधिक गर्मी भएको बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *