पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रधानमन्त्री

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् ।

शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले उक्त कुुरा बताएका हुन् ।

‘माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ’ उनले भने, ‘हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ । त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो । त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ ।’

उनले आफूहरूभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण नहुने बताएका छन् । ‘यसपटक सरकारको नेेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ’ प्रधानमन्त्रीले भने, ‘त्यसका लागि नयाँ ढंगले सोच्दैछौँ । हामीसँग इतिहासको तागत छ । त्याग र बलिदानको तागत छ । जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ । त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ ।

हामीले राम्रो गर्न खोज्दैछौँ । सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको छ । त्यसलाई सफा नगरी देश बन्दैन ।’ उनले देश निर्माणका लागि फेरि नयाँ फड्को जरूरी रहेकाे बताए । सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को हान्न खोजिएको उनकाे भनाई छ । यसमा दृढतापूर्वक अघि बढ्नुपर्छ र सरकार यसमा दृढ रहेकाे उनले बताए ।

प्राकृतिक साधनस्रोत उपयोग गरेर देशको समुन्नतिका पक्षमा फड्को हान्ने मन रहेकाे बताउदै प्रमले यसका लागि के-कसरी काम गर्न सकिन्छ, यतातर्फ पनि सबैले सोच्नुपर्ने बताए । पार्टीका सबै नेता-कार्यकर्ताले देशको समृद्धिको पक्षमा काम गर्ने संकल्प गर्नुपर्ने तर्क उनकाे छ ।

‘हाम्रो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको छ’ उनले थपे, ‘आज नै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौँ ।समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ । पूर्वमाओवादीहरू पनि छलफलमा छौँ । फेेरि पार्टी एकताको आधार निर्माण हुँदैछ । पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ ।’

प्रमले विशेष महाधिवेशन गर्ने तयारी रहेकाे सुनाए । यसले पार्टी पुनर्निर्माणमा योगदान पुग्ने उनकाे भनाइ छ । सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै लैजाने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *