गण्डकी प्रदेश उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तगर्त जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीकाे भवनकाे उद्घाटन गरिएकाे छ । बुधबार उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले भवनकाे उद्घाटन गरेकी हुन् ।
५ करोड ९९ लाख ७६ हजार ९ सय ७८ रूपैयाँ लागत अनुमान गरिएको उक्त भवन निर्माणको जिम्मा सूर्य कन्ट्रक्सन कम्पनीले भ्याटसहित ३ करोड ५० लाख १५ हजार ६ सय ४३ रूपैयाँमा ठेक्का लिएको थियो । ३ हजार २ सय ६ वर्गफिट जग्गामा बनेको यस भवनको २२ वटा कोठा छन् । डिभिजन कार्यालय प्रमुख किरण आचार्यका अनुसार डिभिजन कार्यालयको ७ रोपनी ८ आना जग्गा रहेको बताए । यो भवनको २०७८ असार २१ गते सम्झौता भई हालै सम्पन्न भएको हो । भवन निर्माणको प्रत्यक्ष रेखदेख पूर्वाधार विकास कार्यालय कास्कीले गरेको थियो ।
उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव सुदीप कैनीले प्रदेशका ११ जिल्लाका सिँचाई डिभिजन कार्यालयमध्ये कास्कीले ९० प्रतिशत भौतिक प्रगति गरेर उत्कृष्ट रहेको बताए । सचिव कैनीले पोेखराका महत्वपूर्ण फेवा, बेगनास, विजयपुर, सार्दिखोला र सेती जस्ता नहर (सिँचाई प्रणाली) संचालन र व्यवस्थापन गर्दै आएको बताए । यी चार नहर पोखराकै ठूलामध्येका हुन् । उनले यिनै नहरका कारण विद्युत्त, खाद्यान्न लगायतमा पोखराको जनसंख्या धानिएको दावी गरे ।
कार्यालय २०७५ भदौ २८ मा पोखरा महानगरपालिका–१३ माझापाटनस्थित स्थापना गरिएको थियो । २०७८ जेठ ५ मा भौतिक मन्त्रालय टुक्रिएर उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय बनाइएपछि यो कार्यालय पनि सोही मन्त्राय अन्तर्गत रहदै आएको छ । यसअघि संघिय सिँचाई मन्त्रालय अन्तर्गत तत्कालिन सिँचाई विकास डिभिजन कार्यालय स्याङ्जाले कास्की र स्याङ्जा जिल्ला कार्य क्षेत्र हुने गरी सेवा प्रवाह गर्दै आएको थियो । आव २०७२/७३ मा कास्की जिल्ला हेर्ने गरी छुट्टै सिँचाई कार्यालयको स्थापना गरियो । संघियता कार्यान्वयनसंगै उक्त कार्यालय प्रदेश सरकार मातहतमा आएको थियो । तत्कालीन जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयसमेत एकीकृत भई तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत २०७५ मा स्थापना गरिएको थियो ।