जिल्ला प्रहरी कार्यालय कास्कीले गत आर्थिक वर्षमा ४ करोड ३५ लाख रुपैयाँको साइबर ठगी भएको जनाएको छ । फेसबुकमा फेक आइडी बनाएर नजिकैको मान्छे बन्ने र आपत परेको भन्दै पैसा माग्ने जस्ता साइबर क्रियाकलापमा संलग्न भएर करोडौं ठगी गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए । उनका अनुसार इन्टरनेटको प्रयोग गरेर अनाधिकृत रुपमा एक व्यक्तिको खाताबाट अर्कोको खातामा पुर्याई चोरी गरेर कास्कीमा करोडौं ठगी भएको छ ।
जिल्लामा उजुरी गर्नेको संख्या सामाजिक सञ्जालबाट झुक्याइएका बढी छन् । ‘साइबर अपराधको प्रकृति हेर्दा विशेष गरी फेसबुक आइडी बनाएर पैसा माग्ने, आइडी ह्याक गर्ने, गाली बेइज्जत, अश्लील वा अमर्यादित कुराकानी गरेर ठगी गरिएको विकले बताए । ‘फेसबुक आइडी बनाएर पैसा माग्ने, आइडी ह्याक गर्ने, गाली बेइज्जत, अश्लील वा अमर्यादित कुराकानी गरेर ठगी भएको छ’ उनले भने । अनलाइनबाट ठगी भएको भन्दै आर्थिक वर्ष ०७८ र ७९ मा २ सय ९७ वटा उजुरी परेका थिए । गत आर्थिक वर्षमा ४ सय १९ वटा उजुरी परेका थिए । दुई वर्षको तथ्यांक हेर्दा अनलाइन ठगीबाट कास्कीमा ७ सय १६ जना पीडित भएका छन् ।
गत आर्थिक वर्षका ४ सय १९ वटा उजुरीको रकम जोड्दा कास्कीमा ४ करोड ३५ लाख ठगी भएको हो । निवेदन परेकामध्येबाट प्रहरीले समन्वय गरेर ५७ लाख ५२ हजार ७ सय ७० रुपैयाँ पीडितले फिर्ता पाएको डीएसपी विकले जनाए । अनलाइनबाट ठगी हुने सबैभन्दा बढी महिला छन् । कास्कीको तथ्यांक अनुसार कास्कीका कुल अंकको २ सय २६ जना महिला मात्र ठगिएका हुन् । यसरी ठगिनेमा महिलाको तुलनामा पुरुषको संख्या भने कम छ । ठगी भएका ४ सय १९ मध्ये १ सय ६६ जना पुरुष हुन् । प्रहरीले यसरी ठगिनेमा बालबालिका पनि रहेको बताएको छ । आव २०७९ र ८० को तथ्यांकमा बालक ४ र बालिका २३ जना छन् । आर्थिक वर्ष २०७९ र ८० मा बालक ११ र बालिका १४ जना छन् ।