स्याङ्जामा खानेपानी परीक्षण गर्दा कोलीफर्म भेटिएको छ । जिल्लाका सवै स्थानीय तहका मुहानबाट पानीको नमूना संकलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अत्याधिक मात्रामा भेटिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले खानेपानीको नमूना संकलन गरी परीक्षण गरेको थियो । कार्यालय प्रमुख बसुन्धरा शर्माले एघार वटा पालिकाबाट खानेपानीका ९४ वटा नमूना संकलन गरी परीक्षण गरिएको बताइन् । परीक्षण गरिएकामध्ये ४१ मा कोलीफर्म भेटिएको हो ।
गत वर्ष सवै पालिकाबाट खानेपानीको ५२ नमूना परीक्षण गरिएकोमा ५२ प्रतिशत कोलीफर्म भेटिएको थियो । पुतलीबजार र कालीगण्डकीमा १६–१६, भिरकोटमा १३, चापाकोट, वालिङ, आँधीखोलामा ८–८ बिरुवा र गल्याङ्मा ६–६ अर्जुनचौपारीमा ५ फेदीखोला र हरिनासमा ४–४ खानेपानीका नमूना सङ्कलन गरी परीक्षण गरिएको स्वास्थ्य कार्यालयल जनाएको छ । सार्वजनिक, व्यक्तिगत र संस्थागत धाराबाट पानीका नमूना परीक्षण गरिएको थियो । मुहान, ट्याङकी, धारा र घरबाट पनि नमूना संकल गरिएको कार्यालयले बतायो ।
सबैभन्दा बढी बिरुवा गाउँपालिकामा ६६ दशमलव ६ प्रतिशत र सबैभन्दा कम पुतलीबजार नगरपालिकामा ३१ दशमलव २५ प्रतिशत कोलीफर्म भेटिएको छ । चापाकोट नगरपालिकामा ६२ दशमलव छ, फेदीखोला र हरिनास गाउँपालिकामा ५० दशमलवग ५०, भिरकोट नगरपालिकामा ४६ दशमलव एक, अर्जुनचौपारी गाउँपालिकामा ४० प्रतिशत कोलीफर्म भेटिएको प्रमुख शर्माले बताइन् । यस्तै गल्याङ नगरपालिकामा ३८ र वालिङ नगरपालिका, आँधीखोला र कालीगण्डकी गाउँपालिकामा ३७ दशमलव पाँच प्रतिशत कोलीफर्मका कीटाणु भेटिएका थिए । कोलीफर्मयुक्त पानी सेवनले झाडापखाला, टाइफाइडजस्ता सरुवा रोग लाग्नुका साथै मिर्गौलालाई पनि असर गर्ने हुँदा सचेत हुनुपर्ने कार्यालयले बताएको छ ।
