पोखरा महानगरपालिकाले मंगलबारदेखी फोहोर उठाउने भएको छ । संकलन गरिएको फोहोर पोखरा महानगर–३२ लामेआहालमै लगेर व्यवस्थापन गरिने जनाएको छ । स्थानीयको अवरोधपछि महानगरले १२ दिनदेखी फोहोर संकलन गरेको थिएन् । स्थानीय मध्येका केहीले फोहोर फाल्न रोक लगाउने अन्तरिम आदेशको माग गरी उच्च अदालत पोखरामा हालेको मुद्दामा अदालतले आइतबार अन्तरिम आदेश दिनु नपर्ने आदेश गरेको छ । त्यसपछि महानगरपालिकालाई लामेआहालमा फोहोर व्यवस्थापन गर्ने कानुनी बाटो खुला भएको हो ।
यता, जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकले मंगलबारदेखि फोहोरलाई लामेआहालमा लगेर व्यवस्थापन गर्ने निर्णय गरेको हो । वैठकले फोहोर व्यवस्थापनमा स्थानीयले अवरोध गरे आवश्यक प्रहरी प्रयोग गरिने निर्णय गरेको छ । महानगरका प्रवक्ता एवं वडा नम्बर २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले फोहोर व्यवस्थापनमा महानगरले स्थानीयसँग गरिएको प्रतिबद्धता (दिनदिनै माटोले पुर्ने) पालन गरिने बताए ।
