रत्न मन्दिर खुल्यो, हिमा गृह भने खुलेन

Share this post :

Facebook
Twitter
WhatsApp

गणतन्त्र दिवसको अवसर पारी पोखरा–६ लेकसाइडमा रहेको रत्न मन्दिर (दरबार) सर्वसाधारणका लागि खुला गरिएको छ । तर, त्यसैको आडमा रहेको हिमा गृहको ढोका भने अहिले पनि सर्वसाधारणको लागि बन्द छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले रत्न मन्दिरको ढोका खुलाएर सर्वसाधारणका लागि खुला भएको घोषणा गरेका थिए । सोही क्रममा मन्त्री किरातीले हिमा गृहको ढोका पनि सर्वसाधारणका लागि छिट्टै खुल्ने घोषणा गरेका थिए ।

शाहकालीन हिउँदे दरबारका रुपमा परिचित पोखराको रत्न मन्दिर २०१५ मा बनेको थियो । फेवा किनारमा तत्कालीन राजा महेन्द्रले कान्छी रानी रत्नको लागि यो दरबार बनाएका थिए । संघिय गणतन्त्र लोकतान्त्रिक मूलुक घोषण भए पनि यो दरबार यत्तिकै राखिएको थियो । १७४ रोपनी ४ आना र २ पैसा क्षेत्रफलमा निर्माण गरिएको यस दरबारमा स्वदेशी तथा विदेशी अवलोकन गर्न पाएका छन् ।

नेपाल ट्रस्टकै कर्मचारीको व्यवस्थापनमा रत्न मन्दिर सञ्चालन भएको छ । राजा विरेन्द्रको परिवारको निधन भएपछि उक्त दरबार २०६७ मंसिर २० गते नेपाल ट्रष्टको स्वामित्वमा आएको हो । लोकतन्त्रपछिको अन्तरिम संसद्ले पूर्वराजा वीरेन्द्रका नाममा रहेको सम्पत्ति राष्ट्रियकरण गरी ट्रस्ट बनाउने निर्णय गरे अनुसार २०६४ असोज २१ को मन्त्रिपरिषद्ले सरकार मातहत ल्यायो । त्यतिबेला नेपाल ट्रस्ट रक्षा मन्त्रालयको मातहत थियो । नारायणहिटी दरबार सर्वसाधारणका लागि उहिल्यै खुला भइसक्दा पनि पोखराको रत्न मन्दिर, हिमागृहलाई बन्द राखियो । पर्यटकीय दृष्टिकोणलेसमेत सदुपयोग हुन सकेन । नेपाल ट्रष्टका अध्यक्षसमेत रहेका मन्त्री किरातीले पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि ट्रष्टको कार्यालय पर्यटन मन्त्रालय अन्तर्गत राखेको बताए ।

यस परिसरभित्र ऐतिहासिक रत्न मन्दिर दरबार, ताल घर, बाघ, बगैंचा र सानाठूला गरि १० वटा भवन रहेका छन् । दरबारभित्र वैठक कक्ष, राजारानीको शयन कक्ष, शाही नातेदारले प्रयोग गर्ने शयन कक्षहरु, डाइनिङग कक्ष लगायत ११ वटा कोठा रहेका छन् । फेवातालको मनमोहक दृश्य अवलोकन गर्न सकिने, तालकै छेउमा रहेको भवनलाई विदेशमन्त्री र राजदुतलाई भेट्ने कक्षकोरुपमा प्रयोग गरिन्थ्यो । रत्न मन्दिर खुलाउनका लागि यहाँ स्थानीय र जनप्रतिनिधिले पटकपटक माग राखेका थिए ।

पोखराका पर्यटन व्यवसायीले यहाँ आउने प्रधानमन्त्री, रक्षामन्त्री, पर्यटनमन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्रीदेखि सांसद, महानगर प्रमुख लगायतलाई पटकपटक ज्ञापनपत्र बुझाएर रत्न मन्दिर खुला गर्न माग गर्थे । उनीहरुले पनि आफ्नै कार्यकालमा यी सम्पदा खुला गर्ने प्रतिबद्धता जनाउथे । गण्डकी प्रदेश सरकारले यी सम्पदालाई आफ्नो मातहतमा ल्याउन कसरत गरेको थियो । रत्न मन्दिर र हिमागृह परिसर लगायत नेपाल ट्रस्टको स्वामित्वमा पोखरामा रहेका भवन तथा जग्गा संरक्षण तथा सञ्चालन सम्बन्धी अवधारणासहितको अध्ययन प्रतिवेदन प्रदेश सरकारले २०७६ मा तयार गरेको थियो । रत्न मन्दिर व्यवसायिक प्रयोजनमा भाडामा लगाउने प्रस्ताव आएपछि भने नागरिक समाजले विरोध जनायो । हालका पर्यटन मन्त्री सुदन किरातीले गत वैशाखमा पोखरा आउँदा रत्न मन्दिरको भ्रमण गरी यसलाई गणतन्त्र दिवसबाट खुला गर्ने घोषणा गरेका थिए । पोखरा महानगरको सहयोगमा रत्न मन्दिरमा मर्मतसम्भार, रंगरोगनको कार्य गरियो । नेपाल ट्रस्टले सर्वसाधारणका लागि खुला गर्न सञ्चालन कार्यविधि बनाएको छ ।

फेवा तालतिर फर्किएको रत्न मन्दिर परिसर ४ खण्डमा फैलिएको छ । मुल गेट र प्रवेश खण्ड, रत्न मन्दिर र बगैंचा चौर सहितको मुख्य खण्ड, हेलिप्याड, भेटघाट टहरो र एडीसी भवनसहितको फराकिलो चौर खण्ड, नेपाली सेनाको ब्यारेक सहितको जंगल र सिमसार खण्ड रहेका छन् । हाल यही चार खण्ड सर्वसाधारणका लागि खुला छन् । रत्न मन्दिरको मुख्य दरबारभित्र भने प्रवेश खुला गरिने छैन ।

राजतन्त्रको अन्त्यसंगै सुरुमा यसलाई नेपाली सेनाको पृतना बनाउने योजना अघि सारिएको थियो । अतिथि गृह, निजी क्षेत्रलाई भाडामा दिने, जैविक विविधता पार्क, ताल संग्रहालय, पर्यटक सूचना केन्द्र बनाउनेदेखि विदेशी संस्थालाई भाडामा दिने, अन्तर्राष्ट्रिय अध्ययन केन्द्र बनाउनेसम्मका पहल पनि भए । पाँचतारे होटल, अर्गानिक गार्डेन, क्लब र टुरिस्ट मार्केटलगायतका विकल्प पनि अघि सारियो । तर, सबै व्यापारिक प्रकृतिका भएकाले स्थानीयले विरोध गरे । वन मन्त्रालयले जर्मनीको नेचुरल हिस्ट्री म्युजियमसंग मिलेर ‘इन्टरनेसनल सेन्टर फर हिमालयन बायोडाइभर्सिटी सेन्टर’ खोल्ने योजना पनि अघि सारेको थियो ।

मन्त्री किरातीले मन्दिरको मुल ढोका पनि विस्तारै खोलिने बताएका छन् । बेलायती महारानी, चीनका राष्ट्रपति र तत्कालीन प्रधानमन्त्री विपी कोइराला पनि यहाँ बास बसेका छन् । विशिष्ट अतिथिकोरुपमा आएका बीपीले आफ्नो आत्मवृत्तान्तमा पनि यसबारे लेखेका छन् । यस दरबारमा ४१ वर्ष हेरचाहको काम गरेकी ८२ वर्षिया प्रतापकुमारी अधिकारीले राजा महेन्द्र भ्रमणको क्रममा पोखरा आउदा ताल किनार मन परेपछि रत्न मन्दिर बनाएको बताइन् । स्थानीयसंग जग्गा किनेर २०१३ मा निर्माण सुरु भएर २०१५ मा रत्न मन्दिरको निर्माण सम्पन भएको हो । २०५८ मा राजा वीरेन्द्रको वंशनाश भएपछि यो दरबारमा चहलपहल कम हुँदै गयो । ‘राजा विरेन्द्रको शोक मनाइएको थियो’ अधिकारी भन्छिन, ‘अन्तिम भोज नै उहाँको दुखदको थियो । त्यसपछि यो मन्दिरमा चहलपहल हट्यो ।’ उनले रत्न मन्दिर पहिलेको तुलनामा व्यवस्थापकीय कमजोर भएको बताइन् ।

दरबार हत्याकाण्डको रात तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र हिमा गृहमा बसेको अनुभव अधिकारीसंग छ । ज्ञानेन्द्र राजा भएपछि दरबारका नाममा रहेका सम्पति आफ्नो नाममा सारेका थिए । रत्न मन्दिर भने वीरेन्द्रकै नाममा रहेकाले नेपाल सरकारको स्वामित्वमा आएको हो । रत्न मन्दिरभन्दा ५ सय मिटर पूर्वमा छ, हिमा गृह । यो पनि नेपाल ट्रस्टको स्वामित्वमा छ । राजा महेन्द्रका माइला भाइ हिमालय वीरविक्रमका नाममा हिमा गृह बनेको थियो । २०३८ पुस ९ मा अधिराजकुमार हिमालयले पत्नी प्रिन्सेप शाहलाई उक्त घर उपहार दिएका थिए । २०४६ कात्तिक १० मा प्रिन्सेपबाट राजा वीरेन्द्रका नाममा हक कायम गरिएको थियो । फेवाताल किनारमै अवस्थित हिमा गृहको क्षेत्रफल १० रोपनी ४ आना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *