गीतबाट आमाबुबाको हेरचाह गर्न सन्देश

Share this post :

Facebook
Twitter
WhatsApp

‘आमा बाबुलाई नगर हेला,
तिम्रो पनि आउछ दिन त्यही वेला ।
छोरा पायो अर्कालाई सुख्ख,
जन्मदिने बाआमा झन दुःख ।।
धान झुलेको छ, कहाँ जाम कहाँ जाम भई रछ मन डुलेको छ ।’

पोखरा महानगरपालिका–१७ म्यूजियम मार्गमा भेटिएका विरबहादुर गन्दर्भ सारङ्गीको धुनमा जन्मदिने आमा बुवालाई माया र स्नेह दिनु पर्दछ भन्ने घरदैलोमा पुगेर प्रस्तुत गरेको सन्देश मुलक गित हो यो ।

सन्तानबाट जन्मदिने बुवाआमालाई उमेरको उत्तरार्धमा जति माया दिनुपर्ने हो त्यति नपुगेको समाजको परिदृष्यलाई चरितार्थ गर्दै सारङ्गी धुनमा हृदयविदारक गित गाउँनु यतिखेर उनको दैनिकी बनेको छ ।

अहिले आमाबुबालाई हेला गर्दा त्यो अवस्था भोलि आफ्नो पनि भोग्नुपर्छ भनेर भुल्न नहुने, जन्मदाता आमाबुबालाई खुशी राखेर आशिर्वाद लिनुपर्ने जस्ता लय सहितको सारङ्गी धुन सुन्दा जो कोहीको पनि आँखा रसाउने गर्दछन् ।
पछिल्लो समय ६१ बर्षीय गन्दर्भले समाजका विकृति र विसंगतीका विरुद्धमा सारङ्गी बजाउँदै गित गाउने आफ्नो पुख्यौली पेशामार्फत समाजलाई सचेत गराउँदै जिविकोपार्जनको आधार बनाउँदै आएका छन् ।

पोखरा–३२ तल्लो गगनगौडामा वस्दै आएका उनले कान सुन्दैनन् । तोते वोली भएका विरबहादुर भन्छन, ‘माइला दाजु ठाकुर गायकले दिनुभएको सारङ्गी यतिखेर जीविकोपार्जनको साधन बनेको छ ।’ सारङ्गी विशेष गरि पहिला खिर्राको काठको बनाउने भए पनि गायकले दिएको भने बकाईनोको भएको उनले बताए ।

सारङ्गी रेटदै गित गाउँनु जिवन धान्ने पेशा नै बन्दै आएको बताउँदै उनले थपे, ‘एक बर्ष अघिदेखि सरकारले दिने सामाजिक सुरक्षा भत्ता अन्तर्गत मासिक तीन हजार पाउने गरेको छु ।’ श्रीमती, तीन छोरी सहित पाँच जनाको परिवारलाई शिक्षादिक्षा र पालनपोषणको गर्जो टार्दै आएको उनले बताए ।

हिउँदको समयमा नजिकैको खोलाको खानीमा ढुङगा, बालुवा र गिटी निकाल्ने मजदुरी काम गर्ने गरेको बताउँदै उनले भने, ‘बर्षा लागेपछि खोलाको काम बन्द भयो सारङ्गी बोकेर पोखरातर्पm लाग्ने गरेको छु । घरको ढोकामा पुगेर गित गाउँछु सहयोगी मनले स्वस्फुर्त दिएको सहयोग लिएर गितबाट आर्शिवाद दिन्छु र घर फर्किन्छु ।’

दिनभरी घरघरमा पुगेर सारङ्गीको धुनमा गित सुनाउँदा कहिले दुई हजार ५ सयसम्म हुने गरेको उनले बताए । कहिलेकाँही रकम उठेन भन्दा पनि एक हजार त जसै उठने उनी बताउँछन् । घरदैलोमा जाँदा सजिलो नहुने बताउँदै उनले कहिले मानिस नभेटिने त कहिले कुकुरले गेटबाट भित्र छिर्न नदिने दुखेसो पोखे । अर्काको घरमा गोठो वसेर जिविकोपार्जन गर्दै आएको गन्दर्भ भन्छन, ‘घरभेटीले झाक्री बोलाएर एउटा कुखुराको भाले पुजा गरेपछि ३८ बर्षको उमेर पहिलो पटक मुख बोल्न पाएको हुँ । त्यो बेला मेरो अन्यन्तै खुशीको क्षण थियो ।’

विहान सवेरै खाना खाएपछि सारङ्गी बोकेर घरबाट निस्कने र झमक्क साँझ परेपछि घर फर्कने उनको दैनिकी बनेको छ । पोखरा महानगरका अधिकांश वडामा पहेलो पहिरनमा माग्नेको विगविगिनै रहेको वर्तमान अवस्थामा सारङ्गीको धुनमा कला प्रस्तुत गरेर उनलाई धेरै थोरै आर्थिक सहयोग गर्न पाउँदा स्थानीय वासिन्दाले खुशी व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *