गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सङ्घीयता बलियो बनाउन कर्मचारीको महत्त्वपूर्ण भूमिका हुने बताएकी छन् । राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) कास्कीले आयोजना गरेको निजामती कर्मचारी फुटसल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सिंखडाले सङ्घीयता कार्यान्वयनमा कर्मचारीको सहयोग महत्त्वपूर्ण रहेको बताईन् ।
स्वास्थ्यका लागि खेल आवश्यक भएको बताउँदै मन्त्री सिंखडाले भनिन्- ‘खेलकुद प्रतियोगिताले अन्तर सम्बन्धको काम पनि गर्छ । एक अर्कोमा भएका तिक्ततालाई मेटाउने काम पनि गर्छ । यस्ता प्रकारका प्रतियोगीता हुनु आवश्यक छ ।’ गण्डकी प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालय पनि आफूले सम्हालेको बताउँदै खेलकुदका विविध शीर्षकमा बजेट विनियोजन गरी खेलकुदलाई प्राथमिकता दिएको उनले बताईन् । कर्मचारीबिचको यो फुटसल प्रतियोगिताले एक आपसमा एकताको सन्देश दिएको र यसले प्रशासनिकदेखि विविध गतिविधिमा सहयोग र सद्भाव देखिने मन्त्री सिंखडाको भनाई थियो ।
व्यवसायिक र सृजनशिल प्रशासन, विकास समृद्धि र सुशासन भन्ने मूल नाराका साथ निजामती दिवसको अवसरमा राष्ट्रिय कर्मचारी सङ्गठनले आयोजना गरेको प्रतियोगिता २१ गते सम्म पोखरा मुस्ताङचोक फुटसलमा हुने छ । विजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ ।
