प्रधानमन्त्री प्रचण्डद्वारा संविधान दिवसकाे शुभकामना

Share this post :

Facebook
Twitter
WhatsApp

संविधान दिवसकाे अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शुभकामना व्यक्त गरेका छन् । प्रम प्रचण्डकाे शुभकामना जस्ताकाे तस्तै :

संविधान दिवसको अवसरमा राजनीतिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु। जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलनसहित आदिवासी जनजातिलगायत विभिन्न समुदायका संघर्षमा सहभागी सबैप्रति आभार प्रकट गर्दछु।
संविधानसभाबाट संविधान निर्माण नेपालमा ऐतिहासिक परिघटना हो। महान् दश वर्षे जनयुद्ध, २०६२÷०६३ को जनआन्दोलनलगायत राजनीतिक परिवर्तनका लागि भएका तमाम् आन्दोलनको योगफलको रूपमा नेपालमा संविधानसभाबाट संविधान जारी भएको हो। आफैबाट निर्वाचित प्रतिनिधिहरूबाट तर्जुमा भएको संविधानबाट मात्र शासित हुने नेपाली जनताको सात दशक लामो चाहना यसै संविधानमार्फत् पूरा भएको छ। त्यसैले संविधान जारी भएको दिन असोज ३ लाई नेपाल सरकारले राष्ट्रिय पर्वका रुपमा मनाउँदै पनि आएको छ।
संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरूको जगमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय र समृद्धि प्राप्तिका लागि मार्गप्रशस्त गरेको छ। संविधानले नागरिक तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, साँस्कृतिक हक अधिकार पनि सुनिश्चित गरेको छ।
यतिबेला हामी संविधान कार्यान्वयनमार्फत् जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा छौं। सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको छ। संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानुन निर्माणदेखि भएका कानुनको परिपालनामार्फत् जनतामा राजनीतिक परिवर्तनको प्रत्याभूति गराउने, प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित राष्ट्र निर्माणको महाअभियानको थालनी गर्नु सरकारको प्राथमिकता हो।
अन्त्यमा, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै सहिदहरूले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा उहाँहरूले देखेको सुन्दर र समृद्ध नेपालको सपनालाई साकार पार्न हामी सबैलाई यस अवसरमा प्रेरणा मिलोस् भन्ने कामना गर्दछु।
३ असोज, २०८०
पुष्पकमल दाहाल ‘प्रचण्ड’

Leave a Reply

Your email address will not be published. Required fields are marked *