पर्यटन विभागले नेपालका १० वटा हिमाल चढ्नका लागि ४७ देशका आरोहीलाई अनुमति दिएको छ । शरदयाममा हिमाल चढ्ने आरोहीको लागि विभागले अनुमति दिएको जनाएको छ । विभागका अनुसार ८ हजारभन्दा अग्ला मकालु, धौलागिरि, मनास्लुसहित १० हिमालका लागि अनुमति दिएको हो ।
नेपालले आरोहण लगायतका साहसिक गतिविधिका लागि ४ सय १९ हिमाल खुला गरेको छ । यीमध्ये ६८ हिमालमा अझै आरोहण हुन सकेको छैन । गतवर्षको शरदयाममा १ सय ७६ आरोहण दलका लागि १४ सय ४१ जनालाई विभागले अनुमति दिएको थियो । नेपालले हरेक वर्ष वसन्त, शरद र ग्रीष्म सिजनमा नेपालका हिमाल आरोहणका लागि अनुमति जारी गर्छ ।
विभागको तथ्यांक अनुसार भदौ २९ सम्म मनास्लुका लागि ३ सय १, धौलागिरिका लागि १०, पुथा हिउँचुली र कुम्भकर्णका लागि ५ र ५, अन्नपूर्ण चौथो, मकालु प्रथम र रक्सा उरै हिमाल आरोहणका लागि ४–४ जना विदेशीले अनुमति लिएका छन् । हिमलुङ, नेमजुङ र थापापिकका लागि २–२ गरी कुल ३ सय ३९ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ । विभागले आरोहण अनुमति जारी गर्दै ३ करोड ६४ लाख रुपैयाँ सलामी दस्तुरबापत राजस्व संकलन गरेको छ ।
