पर्वतीय संग्रहालयमा फरक भूगोलका एकै हिमाली जनजीवन चिनाउने फोटो

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा फरकफरक भूगोलका एकै प्रकारको हिमाली जनजीवन चिनाउने फोटो राखिएको छ । उक्त फोटो अस्ट्रियन आमाछोरीले खिचेका हुन् । लामोसमय लगाएर खिचिएका ती फोटोलाई प्रदर्शन गरिएको पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिइन् ।
सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर डा इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले विभिन्न देशका हिमाली क्षेत्रका किसानको जनजीवन कैद गरिएका फोटो प्रदर्शन सुरु भएको हो । पर्यटन दिवसको अवसरमा संग्रालयमा इसिमोड नामक संस्थासँगको सहकार्यमा विभिन्न देशका हिमाली जनजीवन  एकआपसमा तुलना गरिएको तस्वीर प्रदर्शनमा राखिएको हो । ‘यहाँ राखिएका तस्वीर आमाछोरीले फरकफरक समयमा खिचेका हुन् । सबै फोटोमा के पाइन्छ भने, जुनसुकै हिमाली क्षेत्र भए पनि एकैप्रकारको जीवनशैली हुने रहेछ,’ इसिमोडकी अस्मिता शाक्यले भनिन्, ‘अब पर्वतीय संग्रहालय आउने सबैले फरकफरक भूगोलका हिमाली भेगको रहनसहन तुलना गरिएको तस्वीर पनि हेर्न पाउनेछन् ।’
साथै पर्यटन दिवसकै अवसरमा संग्रहालयमा विभिन्न चराचुरुंगी, सिमसार क्षेत्रबारे जानकारी दिने उद्देश्यले बनाइएको थ्रिडी तस्वीरसमेत सुरुआत गरिएको छ । उक्त तस्वीरबाट चराचुरुंगीबारे रुचि राख्नेहरु जानकारी लिन सक्ने संग्रहालयले जनाएको छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पा आफू विश्वका अन्य ठाउँका पर्वतीय संग्रहालय पनि पुगेको तर, नेपालको जस्तो परिपक्व अन्त नदेखेको दाबी गर्छन् । ‘संसारका अन्य देशले पनि म्युजियम बनाएका छन् । तर, कुनै एउटा स्पेसिफिक चिजमात्रै देखाउन राखेका छन्,’ उनले भने, ‘हाम्रोजस्तो सबैथोक एकै ठाउँमा हेर्न पाइँदैन रहेछ ।’ संग्रहालयकी कार्यकारी निर्देशक न्यौपानेले अघिल्लो आर्थिक वर्षमा २ लाख ७५ हजार जनाले संग्रहालय अवलोकन गरेको जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *