एमाले प्रथम अधिवेशन : पीएस र केआर आमनेसामने

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा एमालेको गण्डकी प्रदेशको पहिलो अधिवेशन सोमबारबाट सुरु भएको छ । अधिवेशनको उद्घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली आउने तयारी भए पनि मौसमको खराबीले आउन सकेनन् । महासचिव शंकर पोखरेलले नै अधिवेशनको उद्घाटन गरे ।
उद्घाटन सत्र सकिएलगत्तै बन्द सत्र सुरु भएको छ । नेताहरु सहमतिको अडानमा छन् । तर, गण्डकीमा सहमतिको वातावरण भने देखिदैन् । मुखमा सहमतिको नारा लिए पनि मनमा भने चुनावी मैदानमा उत्रिसकेका छन् । पृथ्वीसुव्वा गुरुङ र खगराज अधिकारी गुट आमनेसामने भएको हो । उपमहासचिव गुरुङ र स्थायी समिति सदस्य अधिकारीपक्षीय उम्मेदवारले प्यानल नै बनाएर चुनाव लड्ने पक्कापक्की भएको छ ।
यसको लागि समयतालिका नै तोकिएको छ । बुधबार १ बजेदेखी मतदानको कार्यक्रम सुरु हुने निर्वाचन कमिटिले जनाएको छ । यसो त, दुवै गुटको छुट्टाछुट्टै सचिवालयसमेत खडा गरिएको छ । इन्चार्ज गोकर्ण विष्टले पनि चुनावबाटै नेतृत्व आए हार्नेको पनि मन सन्तोष हुने प्रतिक्रिया दिदै आएका छन् । प्रदेश समिति अध्यक्षका लागि गुरुङ पक्षधर नवराज शर्मा र अधिकारी पक्षका मायानाथ अधिकारीको बलियो दाबेदारी छ । नवराज वर्तमान समितिका अध्यक्ष हुन् भने केन्द्रीय सदस्य मायानाथ लमजुङबाट प्रतिनिधि चुनिएर आएका हुन् ।
अधिवेशनमा सहभागी हुन गण्डकीका ११ जिल्ला र जनसंगठनबाट ९ सय ७ जना प्रतिनिधि पोखरामा भेला भएका छन् । सबैभन्दा धेरै कास्कीबाट १ सय ४६ र थोरै मनाङबाट १४ प्रतिनिधि छन् । एमाले केन्द्रीय सदस्य कास्कीबाट कृष्ण थापा र राजीव पहारी, गोरखाबाट रामशरण बस्नेत पनि प्रतिनिधि चुनिएर आएका छन् । उनीहरू आफूलाई प्रदेश अध्यक्षको दाबेदारका रूपमा उभ्याउन प्रतिनिधिमा चुनिएका हुन् ।
तर, उनीहरु भने अध्यक्षतको लागि बलियो उम्मेदवार होइनन् । त्यसबाहेक एमाले नेता धनञ्जय दवाडी, बागलुङ अध्यक्ष हीरा केसी, केदार सिग्देल, शोभियत ढकाल पनि अध्यक्षको आकांक्षी थिए । उनीहरुको पनि चर्चा त्यति छैन् ।
गण्डकी प्रदेशमा यसभन्दा अघि उपमहासचिव गुरुङ र स्थायी समिति सदस्य अधिकारीबीचको प्रतिस्पर्धा देखिएको हो । अधिकारी संघको सांसद हुँदा गुरुङ गण्डकीको मुख्यमन्त्री थिए । गुरुङ हाल संघको सांसद हुँदा अधिकारी प्रदेशसभामा छन् ।
दुई नेताबीचको गुटबन्दी भने एमाले कास्कीको चुनावबाट संस्थागत भएको हो । एमाले कास्कीको अध्यक्षमा गुरुङ पक्षधर मनबहादुर गुरुङले अधिकारीपक्षका दामोदर बैरागीलाई हराएपछि गुटबन्दी तलसम्मै पुग्यो । पछि शंकर पोखरेलको साथ पाएका खगराजले बैरागीलाई संघीय सांसदको टिकट दिलाए ।
स्रोतका अनुसार प्रदेशमा वास्तवमा गुरुङ र अधिकारीबीच देखिएको ध्रुवीकरण भने एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको हो । एमाले सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य किरण गुरुङको पनि आफ्नै गुट छ ।
चुनिएका प्रतिनिधिमाझ अंकगणितीय हिसाबले दुवै पक्षको मत बराबरी जस्तै छ । शर्मा तदर्थ समितिमा रहेर संगठन चलाएकोले पहिलो अधिवेशनबाट आफू अध्यक्षमा आउन चाहेको बताउँछन् । उता, मायानाथले आफ्नो अनुभव र पृष्ठभूमिका कारण पनि आफूलाई नेता कार्यकर्ताले अध्यक्षमा देख्न चाहेको बताउने गरेका छन् । यसअघि एउटै जिल्लाका पृथ्वीसुब्बा र मायानाथ प्रदेशसभामा थिए । पृथ्वीसुब्बा मुख्यमन्त्री र दलको नेता हुँदा मायानाथ प्रमुख सचेतक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *