गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले बालगृहमा बसेका तर, पहिचान नखुलेका बालबालिकाको लागि सहजरुपमा नागरिकता दिनुपर्ने बताएकी छन् ।
रेन्बो चिल्ड्रेन होम नेपालको वार्षिक साधरणसभा, सामाजिक लेखाजोखा तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नागरिकता लगायतका कागज नभएको कारण उनीहरू धेरै सुबिधाबाट बञ्चित हुनुपरेको बताईन । उनले नागरिकता सहज पाउने वातावरणका लागि सरकारसंग पहल गर्ने जानकारी दिइन् ।
संस्था चलाउन धेरै चुनैती हुँदा पनि चिल्ड्रेन नेपालले समाजमा उत्कृष्ट काम गरेकोमा मन्त्री सिम्खडाले धन्यवाद दिएकी थिइन् । कार्यक्रममा सहभागी पोखरा महानगर–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले स्थानीय तहकोतर्फबाट सक्ने सहयोग गर्ने प्रतिवद्धता गरे । बाल गृहबाट राम्रो नागरिक उत्पादन भएको बताउदै उनले समाजमा स्थापित गर्नको लागि राज्यले पहल गर्नुपर्ने बताए ।
नमूना आमा समूह अध्यक्ष जुना अधिकारी, नमूना आमा समूहको पुर्व अध्यक्ष मिठुदेवी अधिकारी, बालगृहकी दिपा खत्री लगायतले कार्यक्रम भनाई राखेका थिए । उक्त कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य सन्देश श्रेष्ठ सम्मानित भएका थिए भने, एसईई पास गर्ने र उच्च शिक्षा पास भएका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।