संसदीय समिति सभापतिले लिए शपथ

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशसभा अन्तगर्त आईतवार संसदीय समितिका सभापतिले शपथ लिएका छन् । राजनीति दलबीच भागबन्डा गरेर कांग्रेसले २, एमाले र माओवादीले एक/एक समितिका सभापति लिएका हुन् ।

शनिबार समितिकाे सभापति पदमा मनाेनयन दर्ता गरिएकाे थियाे । उम्मेदवारी दिने अन्य व्यक्ति नभएपछि चारै जना सभापति निर्विरोध निर्वाचित भएका हुन् । उनीहरूलाई आईतबार सभामुख कृष्णप्रसाद धितालले पद तथा गाेपनियताकाे शपथ खुवाएका हुन् ।

अर्थ तथा विकास समितिकाे सभापतिमा कांग्रेसका भोजप्रसाद अर्यालले पाएका छन् । स्याङ्जाका अर्याल वालिङ नगरपालिकाका पूर्व मेयर पनि हुन् । पार्टीभित्र शेखर काेइराला लाईनका उनी संसदीय दलकाे नेतामा पनि चुनाव लडेका थिए । तर, उनी सुरेन्द्रराज पाण्डेसँग पराजित भएका हुन् ।

कांग्रेसबाटै पूर्वराज्यमन्त्री तथा प्रतिनिधिसभा हुँदै प्रदेश सांसद बनेकी बागलुङकी चम्पादेवी खड्काले प्रदेश मामिला तथा कानुन समितिको सभापति पाएकी छन् ।

सामाजिक विकास तथा कृषि समितिको सभापतिमा माओवादीका फणिन्द्र देवकोटा चयन भएका छन् । सार्वजनिक लेखा समिति प्रतिपक्षले पाउने संसदीय अभ्यास अनुसार एमाले सांसद स्याङ्जाका सुधीरकुमार पौडेल निर्वाचित भएका छन् । विद्यार्थी राजनीतिबाट आँधिखोला गाउँपालिका अध्यक्ष हुँदै प्रदेश सांसद बनेका सुधीर एमालेमा हक्की नेता मानिन्छन् । संसद सुरु भएको ९ महिनापछि गण्डकी प्रदेशसभाका विषयगत समितिले सभापति पाएका हुन् । गत साउन ३० गते समिति गठन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *