राजनीतिक स्थायित्वका लागि शान्ति प्रक्रियाका बाँकी काम टुंगाउनुपर्छ : प्रधानमन्त्री

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले देशमा राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि शान्ति प्रक्रियाका बाँकी काम टुंगाउनुपर्ने बताएका छन् ।
विहीबार दिउँसो बाफिकोटका शहिद तथा बेपत्ता परिवार र घाइते योद्धासँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सत्य निरूपण तथा बेपत्ता सम्बन्धि विधेयक टुंगाउन सरकारले पहल गरिरहेको बताए ।
प्रधानमन्त्रीले भने, ‘गाउँमै आएर भेट्न पाउँदा खुसी लागेको छ । महान् सहिदको बलिदान नभएको भए, बेपत्ता तथा घाइते योद्धाको योगदान नभएको भए देश यहाँसम्म आइपुग्न सम्भव थिएन् । तसर्थ, यो परिवर्तनको हकदार तपाईहरू हुनुहुन्छ ।’
यसपटक पार्टीका सबै नेताहरू जनताको घरदैलोमा जानैपर्ने निर्णय गरेकाे उनले सुनाए । पार्टी रूपान्तरणको महत्त्वपूर्ण आधार रहेकाे बताउदै प्रमले फिल्डमै पुगेर पार्टी र जनताको अवस्था बुझ्न आफू पनि जनतामाझ आएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको छ, यो जनयुद्ध, सहिद, बेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान हो । यसपटक सबै सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गरिएको छ। यो सहिदहरूप्रति उच्च सम्मान हो ।’
शान्ति प्रक्रियाका बाँकी काम टुंगाउने विधेयक सदनमा पुगेको छ । यो विधेयक टुंगिएपछि जनयुद्धको परिपुरण, सम्मान, परिचयपत्र लगायतका काम सम्पन्न हुन्छन् । सहिद पार्कहरू, स्तम्भहरू बन्छन् । यसले सहिद परिवार, बेपत्ता योद्धा र अपाङ्गको समस्या दीर्घकालीन रूपमा समाधान हुने प्रम प्रचण्डले बताए । ‘मासिक भत्ता लगायतका कामहरू व्यवस्थित भएका छन्, बाँकी कामहरू पनि सम्पन्न गरिनेछ’ उनले भने । कार्यक्रममा घाइते योद्धा, सहिद परिवार र बेपत्ता योद्धा परिवारका प्रतिनिधिहरूले प्रतिनिधिमूलक धारणा र सुझावहरू राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *