स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा गण्डकी प्रदेशमै पहिलोपटक कर सहायता कक्षको स्थापना गरिएको छ । पालिकाभित्रका नागरिकका कर सम्बन्धि समस्यालाई सहायता गर्ने उदेश्यले करदाता सेवा कार्यालय स्याङ्जाको समन्वयमा पालिकामा सहायता कक्षको स्थापना गरिएको हो ।
गाउँपालिकामा करदाता र कर कार्यालय जोड्ने फोकल व्यक्तिको रुपमा गाउँपालिकाकै आलेप कर्मचारी अस्मिता रेग्मीलाई पालिकाले तोकेको छ । कर सहायता कक्ष र फोकल ब्यक्तिले पालिकास्तरमा कर सम्बन्धी चेतना दिने, प्राविधिक रुपमा करदातालाई सहयोग गर्ने, करदाता सेवा कार्यालयसँग समन्वय गर्नेछ ।
गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकामा सहायता कक्षको सहयोगमा पालिकाबाटै सुबिधा दिने सके जनमैत्री सेवा प्रवाह हुने र करको बारेमा गुनासो घट्ने बताए । कर प्रशासनलाई जनमैत्री र प्रविधीमैत्री बनाउने भनेर पटकपटक भनिंदै आए पनि जनतामा वित्तीय र डिजिटल साक्षरता अझै न्यून रहेको तिवारीको भनाई छ । कदाता सेवा कार्यालय स्याङ्गजाका कर अधिकृत विजय भुसालले ३० लाखसम्मको कारोबार गर्ने करदाताको करचुक्त्ता प्रमाणपत्र निकाल्ने, युजर आइडी पासवर्ड बनाउने, व्यक्तिगत पानको फर्म भर्ने जस्ता घरबाटै हुन सक्ने काममा कर सहायता कक्ष फलदायी हुने बताए ।
सामान्य कर चेतनाको कमीले बिल बिजक जारी गर्ने, लेखा अद्यावधिक राख्ने जस्ता काम पनि व्यवसायीले गर्न नसकेको अवस्थामा पालिकामा स्थापना गरेकोे कर सहायता कक्ष करदाताको लागि भगवान बन्ने बताउँदै भुषालले जनता अझै पनि कर प्रशासनसंग त्रसित हुने बताए ।
जनता र प्रशासनबिचको त्रासलाई अन्त्य गर्न कार्यालयले समय समयमा कर शिक्षा बारे बढाउदै आएको छछ । दूरदराजमा पुगी कर शिक्षा दिनु स्रोतको हिसाबले चुनौती रहेको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले टाढा टाढाका पालिकाबाट सदरमुकामसम्म खर्च गरेर पुग्नुपर्ने र ब्यावसायीबाट ठगिने करदाताको बाध्यतालाई कर सहायता कक्षले अन्त्य गर्ने बताएका छन् ।
पालिकाभित्रका करदाता पालिकाको कर सहायता कक्षमा आएपछि एकै चोटीमा कर सेवा कार्यालयमा काम हुने गरी पठाउने शर्माले बताए । कर सहयोग कक्ष करदाताको लागि अधिकार नभई सहज बनाउन स्थापना गरिएको हो । यसअघि पालिकाले पालिकाभित्रका ७० वटा आमा समुहको पालिकाको पहलमा न्युनतम महशुलमा अडिट र करचुक्ताको लागि आवश्यक सहयोग गरेको थियो । पालिकाले तोेकेको फोकल व्यक्तिलाई आवश्यक तालिम करदाता सेवा कार्यालयले दिनेछ । जिल्लाका अन्य पालिकामा पनि सहायक कर कक्षको स्थापना गरिने बताइएको छ ।
