तिहारको दोस्रो दिन अर्थात् यमपञ्चक तिथीअनुसार आज एकै दिन नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मी पूजा मनाइँदैछ ।
सफा, सुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यताका अनुसार सवैका घरघरमा उज्यालो बनाउनुका साथै लिपपोत गरिएको छ । लक्ष्मीलाई बोलाउन र घरमै बास होस भन्दै सवै जनाले आज लक्ष्मीको पाइला बनाउदै रङग्यौलीले रङगाएका हुन्छन् । आँगनमा रङग्यौली बनाएर पुजा कोठासम्म लक्ष्मीको पाइला बनाउने चलन पनि छ ।
दीपावलीगरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।
आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
