सरकारले ७१ जना सहसचिवको सरुवा एकैपटक गरेको छ । नियमित प्रक्रिया अनुसार सहसचिवको सरुवा हुँदा गण्डकी प्रदेशका सचिवको पनि सरुवा भएको छ । लामोसमयदेखी गण्डकी प्रदेशमा रहेका विनोदबहादुर कुँवरको संघिय स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ । कुँवर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव बद्रीनाथ अधिकारीको पनि सरुवा भएको छ । उनलाई प्रदेश नीति तथा योजना आयोगको जिम्मेवारी दिइएको छ । उनले दुुईवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
प्रदेश नीति तथा योजना आयोगका सचिव ऋषिराम तिवारीको प्रदेशकै लोक सेवा आयोगमा सरुवा भएको छ । गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वागमती प्रदेशका सचिव तीर्थराज भट्टराई आउने भएका छन् । सामाजिक विकास विकास तथा स्वास्थ्य मन्त्रालयमा रक्षा मन्त्रालयबाट प्रकाश पौडेल आउने भएका छन् ।
प्रदेश प्रमुखको कार्यालय गण्डकीका सचिव अणप्रसाद न्यौपानेको संघीय शिक्षा मन्त्रालयमा सरुवा पठाएको छ । प्रदेशकै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका विशाल घिमिरेको कोसी प्रदेश सरुवा भएको छ । उनको ठाउँमा रामचन्द्र कँडेल आउने भएका छन् । कँडेल संघीय वन मन्त्रालयमा थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, निकाय, आयोग सचिवालय तथा कार्यालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो । संघिय सरकारका सहसचिव प्रदेशमा भने सचिव रहने व्यवस्था छ । गण्डकीसँगै अन्य प्रदेशमा पनि सचिवको सरुवा भएको छ । सरुवा सूचीअनुसार प्रशासन सेवा समूहका ५० जना, इन्जिनियरिङ सेवा समूहका ९ जना, शिक्षा सेवा समूहका ६ जना, वन सेवा समूहका ४ जना र स्वास्थ्य सेवा समूहतर्फका १ जना छन् ।
सामान्यतयाः प्रदेशमा सचिव एक वर्ष बस्ने चलन छ । गण्डकी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गरी हाल ७ वटा मन्त्रालय छन् । १२ बाट मन्त्रालयको संख्या घटाएर ७ मा झारिएता पनि सचिवको दरबन्दी भने कायमै राखिएको छ । सामाजिक विकास तथा स्वास्थ्य र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा २/२ सचिवको दरबन्दी कायमै छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवबाहेक ४ सचिवको दरबन्दी छ ।
