स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । मंगलबार बसेको एक वैठकमा सो विषयमा छलफल भएको हो । वैठकमा जनप्रतिनिधि, कर्मचारी र विज्ञ सहभागी थिए ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै नागरिकलाई स्वरोजगारको कार्यक्रमसँग जोड्न नगरपालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने नगरप्रमुख कृष्ण खाँणले बताए ।
यसबाट नगरको आर्थिक समृद्धिमा सघाउ पुग्ने विश्वास लिँदै खाँणले नगरको पहिचान स्थापनासमेत हुने बताए । घरेलु मदिरालाई ब्राण्डिङ र लेबलिङ गर्ने कार्यले नगरमा करको दायरा वृद्धि हुनेछ भन्, ग्रामिण भेगका नागरिकलाई आत्मनिर्भर बन्ने वातावरण सिर्जना हुने उनको भनाई छ ।
उपप्रमुख कविता तिवारीले राज्यले अवैध मानेको घरेलु मदिरालाई ब्राण्डिङ गर्दा प्रतिपरिवारले प्रत्येक महिना १५ देखि १८ हजारसम्म आम्दानी बढ्ने बताइन् । यसबाट १५ सय घरधुरी लाभान्वित हुने उल्लेख गर्दै सीपको विकास नगरको करको दायरासमेत फराकिलो बन्ने उनले बताइन् ।
स्थानीय तवरले उपलब्ध आँप, लिची, चिउरी, बेलौती जस्ता फलफूलको उपयोग गरी मदिरा उत्पादन हुँदै आएकोमा तिनलाई खेर जान नदिन मदिरा उत्पादन गरिने नगरपालिकाले जनाएको छ ।
