उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको छ ।
असोजको अन्तिम साता उनी मित्रराष्ट्र गणतन्त्र चिनको भ्रमणमा रहेको बेला मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ शाखामा अवरोध देखिएको थियो ।
उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमासमेत केही अवरोध देखिएको जानकारीमा आएको थियो । मुटुमा हल्का असहज महसुस भएपछि गएराति उनी अस्पताल भर्ना हुनुभएको हो । डालअरुण मास्केसहितको चिकित्सक टोलीले केही अवरोध रहेको भागमा राति नै ‘एन्जियोप्लास्टी सर्जरी’ गरिसकेको छ । हाल उनी सघन उपचार कक्षमा छन् र स्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार उनलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहानै अस्पताल पुगि उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनीहरूबीच सामान्य कुराकानीसमेत भएको छ । चिकित्सकको सल्लाहअनुसार अन्य भेटघाट बन्द गरिएको छ ।