हवाइ सुरक्षा व्यवस्थित तुल्याएर कालोसूचि हटाउने प्रयासमा छौँः प्रधानमन्त्री

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाइ सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचिबाट नेपालको हवाइ क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् ।

बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाइ क्षेत्रलाई कालोसूचिबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्रीले नेपालको हवाइ क्षेत्रलाई कालोसूचिबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत कालोसूचिबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने बताए ।

प्रधानमन्त्रीले भने, ‘‘मैले युरोपेली युनियनका प्रतिनिधिहरूसँग पनि यस विषयमा कुराकानी गरेको छु। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणका पदाधिकारीहरूसँग पनि पटकपटक छलफल गरेको छु । हवाइ सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ, यसले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको छविमाथि प्रश्न उठ्न सक्छ। त्यसैले म गम्भीर छु ।’’

‘यसपटक हवाइ सुरक्षामा केही सुधार भएको उनले बताए । त्यसको आधारमा इयुको कालोसूचिबाट हट्छौँ कि भन्ने विश्वास भए पनि नभएकाे उनले बताए । प्रधानमन्त्रीले भने, ‘‘तर हाम्रो सुधार पर्याप्त भएन । थप सुधारका निम्ति काम गर्नुपर्ने परिस्थिति देखिएको छ । तपाईहरूले दिएका सुझाव महत्त्वपूर्ण छन् । नियामक निकायसँग थप छलफल गरेर परिणाममुखी नतिजाको प्रयास हुनेछ ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *