पर्यटकीय शहर : व्यवस्थित बसपार्कको पर्खाइमा

Share this post :

Facebook
Twitter
WhatsApp

तालतलैया, हिमाल, हिउँचुचुुरा सम्झिएर पोखरा व्यवस्थित बसपार्कको पर्खाइमा भएको लामोसमय भयो । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित हालको बसपार्कको दूरावस्थाले पर्यटकीय शहर पोखरालाई नै गिज्जाए झैँ लाग्छ ।

पर्यटकीय नगरी पोखराको बसपार्क ४८ वर्षयता उसैगरी सञ्चालन भइरहेको छ । बसपार्कका लागि विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेर खुम्चिँदै गएको छ । अव्यवस्थित घरटहरा, फोहरको दुर्गन्ध, विजुलीका जीर्ण पोल, लत्रिएका तार, हिलाम्मे सडक पानी जमेका खाल्डाखुल्डीले बसपार्कलाई कुरुप बनाएका छन् । न व्यवस्थित टिकट काउण्टर छ न त बस राख्ने ट्र्याक नै राम्रो छ । किनारामा थन्काइएका थोत्रा बसले बसपार्कको बेहाल र लाजमर्दो स्थितिलाई दर्शाइरहेको छ ।

बसपार्क बन्ने कुनै टुंगो छैन । पोखरा उपत्यका नगर विकास समितिले उहिल्यै देखेको सुविधासम्पन्न बसपार्कको सपना अझै अधुरै छ । जीर्ण र काम चलाउ बसपार्कबाट पोखराले कहिले मुक्ति पाउँछ रु चित्तबुझ्दो जवाफ कसैसँग छैन ।

गण्डकी प्रदेशको राजधानी पोखरासँग ६३ जिल्लाको यातायात सञ्जाल जोडिएको छ । पोखरा एकातिर प्रदेशको राजधानी सहर हो भने अर्कातिर पर्यटनको केन्द्र । बसपार्कसहित यहाँका सहरी पूर्वाधारले प्रदेशकै चिनारी दिइरहेको हुन्छ । यसो त, बसपार्कमा ढलान, पार्किङ ट्र्याक, यात्रु विश्राम कक्ष निर्माण, शौचालय, खानेपानीलगायत पूर्वाधारको खाँचो छ ।

बसपार्क अस्तव्यस्त भएपछि गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन् । टिकट काउण्टर पनि बाहिरी सडकमा छन् । पोखरा महानगरले पृथ्वीचोकदेखि चाइना पुलसम्म पार्किङ निषेध गरेपछि पछिल्लो समय बसपार्कबाटै गाडी छुट्न थालेको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । तीव्र सहरीकरण र सवारीसाधनको चापलाई दृष्टिगत गरेर पोखरामा आधुनिक सुविधायुक्त बसपार्क बनाउनुपर्ने ट्राफिक प्रहरी जनाउँछ ।

स्थानीयबासी बुद्धिबहादुर क्षेत्रीले खाल्डाखुुल्डीको बसपार्क जोखिमपूर्ण रहेको बताए । वर्षात्मा हिलो र हिउँमा धुलोको समस्या रहेको उनले बताए । बसपार्क प्रत्येक निर्वाचनको बेला चुनावी नारासमेत बन्ने उनको भनाई छ ।

पोखरा महानगर अन्तर्गत पोखरा उपत्यका नगर विकास समितिका नाममा रहेको उक्त जग्गा पटकपटक अतिक्रमणमा पर्दै आएको छ । कति जग्गा घडेरीका रुपमा बिक्री भयो, कति अतिक्रमणमा पर्यो भन्ने यकिन तथ्यांक कुनै निकायसँग छैन । दुई सय पाँच रोपनीमध्ये केही जग्गा पृथ्वी राजमार्गमा पर्दा पछि बसपार्कका नाममा एक सय ८७ रोपनी कायम भएको थियो । उक्त जग्गा पनि अहिले घट्दै ६० रोपनीभन्दा पनि कममा झरेको छ ।

जग्गाकै कारण पृथ्वीचोकमा ठूलो बसपार्क बन्ने सम्भावना नरहेको भन्दै महानगरले ‘सिटी’ बसपार्कको योजना अघि सारेको छ । पोखरा–३२ लामेआहालमा प्रादेशिक बसपार्क बनाउने गण्डकी प्रदेश सरकारको प्रस्ताव पनि अलपत्र परेको छ । दुई सय ७३ रोपनी क्षेत्रफलमा बनाउने भनिएको उक्त बसपार्कका लागि लगानीको स्रोत जुट्न नसकेको प्रदेश सरकारले जनाएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बसपार्क निर्माणमा महानगरसँग समन्वय गरेर अघि बढ्ने बताए । प्रदेश राजधानीमा सुविधासम्पन्न बसपार्क नहुनु सबैको बिडम्वना रहेको बताउदै मन्त्रालयले बसपार्क बनाउने विषयमा महानगरसँग मिलेर पहल थाल्ने याेजना सुनायाे । मन्त्रालयका प्रवक्ता टीकाराम पाैडेलले यसका लागि प्रदेश तहबाट पहल भईरहेकाे बताए । उनले याेजना ठूलाे भए पनि बजेट न्यून हुँदा कार्यान्वयनमा जान नसकेकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *