प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ज्येष्ठ नागरिक दिवसकाे अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।
शुभकामना सन्देश जस्ताकाे तस्तै
तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा जीवनको महत्वपूर्ण समय समाज र देशका लागि समर्पण गर्नुहुने सम्पूर्ण ज्येष्ठ नागरिक नेपालीप्रति हार्दिक बधाइ तथा शुभकामना प्रकट गर्दछु।
ज्येष्ठ नागरिकको महत्वपूर्ण ज्ञान, सीप, अनुभव, आदर्श तथा नैतिक दर्शनले राष्ट्रको दीर्घकालीन हित र विकासको लागि मार्गदर्शन प्रदान गरेका छन्। सबै ज्येष्ठ नागरिकहरूको सम्मानित, आरोग्यपूर्ण र सुखमय जीवनयापनको सुनिश्चिततासँग जोडिएका विषयलाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरेको छ । ज्येष्ठ नागरिकहरूको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयहरूमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील छ। यसका लागि सरकारले ज्येष्ठ नागरिकका ज्ञान, अनुभव, सीप तथा नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिएको छ।
देशको जनसाङ्ख्यिक संरचनामा आएको परिवर्तनसँगै बढ्दो ज्येष्ठ नागरिकको जनसङ्ख्याको समुचित व्यवस्थापनमा थपिएका चुनौतिहरूको सामना गर्न राज्यका सबै निकायहरू संवेदनशील हुन आवश्यक छ। जेष्ठ नागरिकहरूले जीवनपर्यन्त परिवार तथा समुदायबाट साथ र सहयोग प्राप्त गरिराख्ने अवस्थाको सिर्जना गर्न र एकल तथा असहाय जेष्ठ नागरिकको उचित हेरचाहको प्रवन्ध गर्न सरकार निरन्तर लागिपरेको छ। आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकका अधिकारहरू प्रत्याभूत गर्न गरिएका व्यवस्थाहरू सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, जेष्ठ नागरिक आश्रम, दिवा सेवा केन्द्र तथा उहाँहरूलाई सेवा सुविधामा प्राथमिकता, छुट एवं सहुलियत प्रदान गर्ने कार्यक्रमहरू प्रभावकारी देखिँदै आएको छ। आगामी दिनमा यस्ता कार्यक्रमहरू थप बिस्तार र गुणस्तरीय बनाउने विश्वास दिलाउन चाहन्छु।
“ज्येष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान” भन्ने राष्ट्रिय मूल नाराका साध मनाउन लागिएको यस दिवसले जेष्ठ नागरिकको सम्पूर्ण अधिकारको सुनिश्चितता र आत्मगौरवको प्रत्याभूतिका लागि परिवार, समाज र राष्ट्रका प्रयासहरूलाई एकीकृत गर्नुपर्ने राष्ट्रिय जिम्मेवारी पूरा गरी सभ्यताको निरन्तरता र विकासमा प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वासका साथ फेरि एकपटक तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद।
११ पुस २०८०
पुष्पकमल दाहाल ‘प्रचण्ड’