प्रश्नपत्र बनाउने क्षमता जोकोहीसँग हुदैन् । काठमाडौँमा बनाइएका प्रश्नपत्र गण्डकी लगायत सातै प्रदेशमा लगिन्छ । केन्द्रिकृत प्रश्नपत्रलाई हटाएर स्थानीयस्तरमा नै प्रश्नपत्र बनाउनुपर्ने हो । अझै पनि यसतर्फ ध्यान पुगेको छैन् । स्थानीय सरकारले यसमा जोड दिनुपर्छ भने शिक्षकको क्षमता पनि बढाउन जरुरी छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले प्रश्नपत्र अझै पनि कपी पेष्टमै निर्भर रहेको बताए । उनले टेनसेटबाट प्रश्न जस्ताको तस्तै कपी गर्दा विद्यार्थीमाथि ठूलो अन्याय भएको बताएका हुन् ।
“म विद्यार्थीका लागि र विद्यार्थी मेरा लागि” भन्ने नाराका साथ पोखरामा आयोजित प्रश्नपत्र तथा उत्तरकुन्जिका निर्माण सम्बन्धि प्रदेशस्तरीय कार्यशालामा बोल्दै अध्यक्ष शर्माले शिक्षकमा परिवर्तन आवश्यक रहेको बताएका थिए । ‘आज प्रश्न बनाएर भोली परीक्षा लिने चलन छ’ उनले भने, ‘प्रश्न प्रदेदशस्तरमा बनाएर पनि हुदैन अव पालिकास्तरमा नै बनाउनुपर्छ । काठमाडौमा बनाइएका प्रश्न अन्यत्र विद्यार्थीले कसरी बुझ्ने ? शिक्षकले विद्यार्थीको होइन आफ्नो अनुकूलमा पढाउने चलन छ । यसले परीक्षा प्रणालीमै प्रश्न चिन्ह खडा गरिदिएको छ ।’ अध्यक्ष शर्माले विगतका परीक्षा प्रणालीलाई सुधार गर्न जरुरी रहेको बताए । उनले प्रविधिमा पनि ध्यान दिनुपर्ने भन्दै कम्प्युटरबाटै प्रश्न गरेर इमलेमार्फत चेक गराउन सक्ने क्षमता भएका शिक्षकको आवश्यकता रहेको बताए ।
स्थानीयस्तरबाट नै प्रश्नपत्र बनाउनको लागि गाउँपालिका महासंघसँग सम्झौता भएको जानकारी दिदै उनले एक सय ५० वटा गाउँपालिकासँग यसवर्ष सहकार्य हुने बताए । उनका अनुसार नगरपालिका संघसँग पनि सम्झौताको तयारी छ । देशभरीका एक सय वटा नगरपालिकाले समन्वय गर्ने गरी यसवर्ष सम्झौता हुने अध्यक्ष शर्मा बताउँछन् । अध्यक्ष शर्माले एसईई परीक्षा विद्यार्थीका लागि आवश्यक रहेको बताउदै भने, ‘नयाँ शिक्षा नीतिको आवश्यकता छ एघारौ संशोधनको होइन् । संघिय शिक्षा ऐनले कक्षा १० को परीक्षा समावेश गरेको छैन् । यो गलत हो ।’ संघिय संसदमै छलफलको क्रममा रहेको शिक्षा ऐनमा परीक्षा राख्नुपर्ने माग गरिएको उनको भनाई थियो ।
गाउँपालिका राष्ट्रिय महासँघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज ओझाले स्थानीय सरकारले हालसम्म भौतिक पूर्वाधारलाई लगानी गरेको बताउँदै शिक्षा क्षेत्रलाई पनि प्राथमिकता दिनुपर्ने बताए । प्रविधिमैत्री शिक्षा नै अहिलेको आवश्यकता रहेको बताउँदै उनले विद्यार्थीहरु अन्र्तराष्ट्रियस्तरमा विक्न सक्ने खालको शिक्षा दिन जरुरी रहेको बताएका थिए । ‘संंघ, प्रदेश र स्थानीय सरकारले शिक्षामा लगानी धेरै गरेको छ तर, हाम्रा विद्यार्थी अन्र्तराष्ट्रियस्तरमा विक्न सक्दैनन्’ उनले भने, ‘यस्तो शिक्षातर्फ पनि ध्यान दिन जरुरी छ ।’
शिक्षा विभागका पूर्व महानिर्देशक बाबुराम पौडेलले शिक्षा ऐन नीजामति कर्मचारीसँग हेपिएको प्रतिक्रिया दिए । उनले शिक्षा ऐन विद्यार्थीसँग छलफल गरेर मात्र ल्याउनेपर्नेमा जोड दिएका छन् । कार्यशालामा शिक्षामा सिण्डिकेट प्रणलीको अन्त्य गर्नुपर्ने बताइएको थियो । प्रदेश शिक्षा निर्देशनालयका महानिर्देशक अम्बिकाप्रसाद आचार्यले पुरानै शैलीमा परीक्षा प्रणाली रहेको बताउँदै यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए ।
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले शिक्षक पेशाप्रति इमान्दार रहे मात्र असल विद्यार्थी उत्पादन गर्न सक्ने बताए । उनले पहिले जस्तो विद्यार्थी आजभोली नपाइने बताउदै थोरै विद्यार्थी सख्या रहँदा पनि शिक्षकको व्यस्तता ज्यादै रहेको बताए । ‘विद्यार्थी संख्या न्यून छ तर, शिक्षकलाई कपी चेक गर्ने फुर्सद छैन’ उनले व्यंग गरे । उनले स्थानीय तहमा शिक्षा सम्बन्धि अधिकार धेरै रहेको बताउदै सही सदुपयोग हुन नसकेको बताए । ‘विद्यालयमा भौतिक संरचना बनाउन प्रतिस्पर्धा छ तर, विद्यार्थी बनाउन कसैको ध्यान पुग्दैन्’ उनले भने ।