प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् ।
शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताए ।
प्रधानमन्त्रीले भने, ‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हाँसिल गर्न सकिँदैन । अलि रणनीतिक महत्वका योजना मात्र सङ्घमा राख्छौं । तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन् । बजेटको क्षेत्र तोकेर पठाइन्छ । आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ ।’
नयाँ योजना धेरै नथपिकन पूरा हुन बाँकी पुराना योजनामा बजेट बिनियोजन गरिने उनले बताएका छन् । ‘खर्च गर्न नसकिने शीर्षकमा बजेट थुपार्ने, अत्यावश्यक आयोजनामा बजेटका अभाव हुने बेथिति अन्त्य गर्नुपर्छ । पुराना योजना सम्पन्न गर्ने कुरामा सरकारको पुरै जोड रहन्छ’ उनले थपे ।
बैठकमा प्रधानमन्त्रीले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी गराएका थिए । ‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ’ प्रमले भने, ‘आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै हो । प्रतिवेदन अध्ययनको प्रक्रियामा छ । अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं । यो सरकारको क्षेत्राधिकार हो । प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ ।’
आगामी मन्त्रिपरिषद बैठकपछि सरकारको तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गर्ने भएकाले प्रस्तुत विधेयकहरू पारित गराउन सांसदहरूलाई प्रधानमन्त्रीले निर्देशित गरे ।
प्रधानमन्त्रीले भने, ‘आउने क्याविनेट बैठकमा छलफल गरेर संसदमा विधेयकहरू पेश गर्ने सरकारको तयारी छ । विधेयकहरू पारित गराउन तपाईहरूले प्रभावकारी भूमिका खेल्नुहोस् ।’ माओवादी केन्द्रको संसदीय दलको बैठकमा नेपाल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबारे सांसदलाई अभिमुखीकरण गर्ने कार्यसूचि रहेको छ ।