गण्डकीमा सरकार गठनकाे प्रक्रिया सुरू, मुख्यमन्त्रीमा दावी पेश अझै भएन

Share this post :

Facebook
Twitter
WhatsApp

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार विहान पदबाट राजीनामा दिएपछि गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ उपधारा (२) बमोजिम सात दिनको समय दिएर (चैत २७ गते दिउँसो ३ बजेसम्म) मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्रवान गरेका छन् । संविधानको उक्त व्यवस्थाअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न सक्नेछन् ।

प्रदेश प्रमुख भट्टले दिएको समय सीमाभित्र बहुमत पु¥याएर मुख्यमन्त्रीमा दाबी पेस गर्न गण्डकीका राजनीतिक दलहरुले कसरत थालेका छन् । काम चलाउ सरकारको नेतृत्व गरेका पाण्डेले काँग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गरेका छन् । उनले नयाँ सरकार गठनको लागि राप्रपाको निर्णय कुरेको बताएका छन् । कुनै पनि गठबन्धनलाई सरकार बनाउन राप्रपाकै भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले काँग्रेस पनि राप्रपाको निर्णयको पखाईमा रहेको बताए । राप्रपाको चैत २७ मा जनप्रर्दशन छ । त्यसअघि कुनै पनि निर्णय गर्न नसकिने पाण्डेले बताए । ‘गण्डकीमा सरकार बनाउन राप्रपा अनिवार्य रहेकाले त्यसअघि राप्रपाले सरकार बनाउन र भत्काउन सहभागी नहुने भनेपछि हामी त्यो दिनसम्मको पखाईमा छौ’ उनले भनेका छन् ।

मुख्यमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । काँग्रेसका पाण्डे ठूलो दलको हैसियतले पुनः मुख्यमन्त्री बन्ने तयारीमा छन् । एक महिनासम्म राप्रपाको पनि निर्णय आउने भएकाले बहुमत पुग्ने गरी विश्वासको मत लिने तयारी उनको छ । सरकार बनाउन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पनि राप्रपाको निर्णयको पखाईमा छ । एमाले–माओवादीलाई दुई र काँग्रेसलाई चार सांसदको समर्थन आवश्यक पर्दछ । ६० सदस्यीय रहेको प्रदेशसभामा सरकार बनाउनको लागि ३१ सांसदको आवश्यकता पर्दछ । एमाले–माओवादी गठबन्धनलाई राप्रपाले साथ दिए सहजै सरकार बन्छ । प्रदेश सभामा सवैभन्दा ठूलो दलको हैसीयतमा काँग्रेसको २७ सीट रहेको छ । २२ सीटले एमाले दोस्रो ठूलो दल हो भने सभामुखसहित माओवादीको ८ सीट । राप्रपाको दुई सीट र स्वतन्त्र सांसदको पनि प्रदेशसभामा सभागीता छ ।

काँग्रेस संसदीय दलका नेतासमेत रहेका पाण्डेले सरकार अल्पमतमा परेपछि चैत ५ गते स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनाएर आफूतिर तानेका छन् । यस्तै, राप्रपाको साथ खोजेका उनलाई राप्रपाका दुई र स्वतन्त्र सांसदले साथ दिँदा पनि बहुमत पुग्दैन । गोरखाबाट माओवादी केन्द्रको चुनाव चिन्ह्र लिएर निर्वाचित नेसपाका फणीन्द्र देवकोटालाई पनि फकाएका छन् । देवकोटाले साथ दिए भने मात्र गण्डकीमा काँग्रेस नेतृत्वमा सरकार बन्नेछ ।

एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले राप्रपाको समर्थनमा नै नयाँ गठबन्धनको सरकार बन्ने बताएका छन् । उनले राप्रपाको समर्थनमा प्रदेश प्रमुखले दिएको समयभित्र नै मुख्यमन्त्री पदमा दावी पेश गर्ने बताए । गण्डकीमा विगतदेखि नै राप्रपासँग सहकार्य भएकाले अहिले पनि मिलेर नै सरकार बनाउने वातावरण बनेको उनको भनाई छ । यता, माओवादी केन्द्रका प्रमुख सचेतक कुशुम बुढाले पनि नयाँ गठबन्धनकै सरकार बन्ने बताइन् । ‘केन्द्रमा जे जस्तो भए पनि गण्डकीमा राप्रपाको सहयोग रहनेछ’ उनले भनिन् ।

दलहरूले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै सरकार बन्ने दाबी गरेका छन् । यदी बहुमत पु¥याउन सकेनन् भने ठूलो दलको हैसीयतले काँग्रेसले सरकारको नेतृत्व गर्ने बाटो खुल्छ । राप्रपा संसदीय दलका नेता एवं पूर्वमन्त्री पञ्चराम गुरुङले चैत २७ सम्म तटस्थ रहेको बताए । ‘बाँकी निर्णय केन्द्रबाटै हुन्छ’ उनले भने । गत २३ फागुनमा माओवादी केन्द्रले समर्थन लिएपछि पाण्डे नेतृत्व सरकार अल्पमतमा परेको थियो । संवैधानिक व्यवस्थाअनुसार चैत २२ भित्र मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुपर्नेमा उनले त्यसो नगरी राजीनामा दिएका हुन् । विश्वासको मत पाउने अवस्था नभएपछि उनले राजीनामा दिएको बताएका थिए । पाण्डे गत वैशाख १५ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *