अबैधरुपमा बन्यजन्तुको शिकार गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । शनिवार पोखरा महानगरपालिका–२० भलामखोरस्थित गोप्य सूचनाको आधारमा प्रहरीले सोही ठाउँका ४२ वर्षिय दिपेन्द्र केसीलाई पक्राउ गरेको हो ।
केसीको घरबाट प्रहरीले मृगको छाला, मृगको आलो मासु (खुट्टा र पुच्छरसहितको ८०० ग्राम) बरामद गरेको छ । यस्तै, घरभित्र लुकाईछिपाई राखेको अवैध हतियार, उक्त हतियारमा लाग्ने खोका १३ वटा, भरी खोका एउटा, बारुद जस्तो देखिने कालो पदार्थ २० ग्राम, छर्रा बनाउन प्रयोग गरीने मेटल जस्तो पदार्थ ७ सय ७६ ग्राम, बारुद बनाउन प्रयोग गरिने पहेँलो रंगको ३ सय ६० ग्राम र सेतो रंगको ३ सय ४५ ग्राम धुलो पदार्थ साथै तीन वटा टर्च लाईटसहित उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए ।
उनका अनुसार पक्राउ परेका केसीलाई आइतबार जिल्ला अदालत कास्कीमा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता गरि ७ दिनको म्याद थप गरिएको छ । अबैध बन्यजन्तुको चोरी शिकारी गरेको कसुरमा जिल्ला वन कार्यालयमा थप अनुसन्धानको लागि उक्त मासु र छालासहित पठाइने उनले बताए ।
यसैगरी प्रहरीले पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–२७ तालचोकस्थित शिशुवामा चेकजाँच गर्ने क्रममा नौ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
शुक्रबार पोखरातर्फ आउँदै गरेको ग १ च ५१३२ नम्बरको कारलाई चेकजाँच गर्दा प्रहरीले कारको डिक्कीभित्र रातो प्लाष्टिकमा पोका पारी लुकाईछिपाई राखेको नौ किलो ८ सय ग्राम लागूऔषध गाँजा र एउटा मोवाइल बरामद गरेको छ । कार चालक गोरखाको सुलिकोट गाउँपालिका–४ घर भई हाल गोरखा नगरपालिका–४ बस्ने २४ वर्षिय मदन नेपालीलाई पक्राउ गरेको एसपी थापाले बताए । उनका अनुसार चालक नेपालीलाई आइतबार जिल्ला अदालत कास्कीमा लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरिको छ ।