गण्डकी प्रदेश सभा अन्तर्गत नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान तेस्रो पटक आइतबार विनाविभागीय मन्त्री बनेका छन् । मुख्यमन्त्री पदमा दावी गरेका चुमानले अन्ततः सत्ता बाँडफाँटमा मन्त्री पदमा चित्त बुझाए ।
दुई पटक नेकपा एमाले र दुई पटक नेपाली काँग्रेसलाई सघाएकोले यसपटक मुख्यमन्त्री माओवादीले पाउनुपर्ने उनको भनाई थियो । मुख्यमन्त्रीका लागि पार्टीभित्र लभिङ गरेता पनि यसपटक पनि चुमानलाई मन्त्रीमा चित्त बुझाउनुपरेको हो । सत्ता गठबन्धन दलबीच भागवण्डा लगाउँदा गण्डकी प्रदेशमा मुख्यमन्त्री एमालेको भागमा परेपछि चुमान मन्त्री बनेका हुन् ।
पहिलो कार्यकालमा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा चुमान आन्तरिक मामिला मन्त्री भएका थिए । गुरुङ नेतृत्वको सरकार ढलेपछि पनि चुमान मुख्यमन्त्री बन्ने कसरतमा लागेका थिए । काँग्रेसका कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारमा दलका उपनेता रामजी बरालको नेतृत्वमा ३ मन्त्रीसहित माओवादी समावेश भयो । दोस्रो कार्यकालमा चुमानले मुख्यमन्त्रीका लागि प्रयास गरे पनि खगराज अधिकारी अगाडि सरेपछि चुमान व्याक हुनु परेको थियो ।
अधिकारी मुख्यमन्त्री हुँदा चुमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री भए । त्यसबेलाको गठबन्धन चार महिनामै सीमित भयो । त्यसपछि बनेको कांग्रेस र माओवादीको गठबन्धनमा सरकार बन्ने पक्कापक्की भयो । त्यतिबेला पनि चुमानले मुख्यमन्त्रीका लागि सक्दो प्रयास गरे । तर, सफल हुन सकेनन् । आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । चुमान दोस्रो चरणमा मुख्यमन्त्री हुने सहमति भए पनि त्यो पनि यत्तिकै रहयो ।
कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा चुमान सहभागी भएनन् । सुशीला सिंखडाको नेतृत्वमा २ मन्त्री पठाए । चुमानको मुख्यमन्त्री बन्ने पालो नआउँदै केन्द्रमा गठबन्धन फेरियो र चुमानको मुख्यमन्त्री बन्ने चाहन पूरा हुन सकेन् । अहिले एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा उनी बिना विभागीय मन्त्री बनेका छन् । मन्त्रालयको टुंगो नलाग्दा पनि उनी विनाविभागीयको शपथ लिएका छन् । सत्ता फेरबदल भइरहदा अर्कोपटक के हो के भन्ने भएपछि उनी मन्त्री बन्न पुगेको माओवादी सांसदले बताएका छन् ।