३ लाखको आलु कारोवार

Share this post :

Facebook
Twitter
WhatsApp

१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको दोस्रो दिन सोमवारसम्म करिव ३ लाखको आलुको कारोवार भएको छ ।
प्रतिकेजी ४० रूपैयाँमा आलु बिक्रीवितरण भइरहेकाे छ । आलु किन्नकै लागि पोखरा महानगरपालिका लगायत अन्नपूर्ण, माछापुच्छ्रे गाउँपालिकासहित छिमेकी जिल्लाबाट समेत मानिस महोत्सवस्थल पुगेका छन् ।

कतिपयले हेमजाको आलु मिठो हुने भन्दै चाख्नकै लागि भए पनि आलु किन्न पुगेको प्रतिक्रिया दिएका छन् । हेमजाको आलु छिटो पाक्छ, अन्यको तुलनामा बढी स्वास्थ्यकर पनि छ, त्यसैले यसपटक घरमा चाहिने ३० किलो आलु किनी लगेको सोमवार आलु खरिद गर्दै गरेकाे माछापुच्छ्रे-५ रिभानकी माया विकले बताइन् ।

कार्यक्रमका बीच खाध्य सुरक्षाका लागि आलु महत्वपूर्ण रहेको चर्चा गरिएको छ । कार्यक्रममा धारणा राख्दै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कार्यकारी निर्देशक सुरेन्द्रलाल श्रेष्ठले आलुले खाध्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको औँल्याउँदै पोषणा सुरक्षाका हिसावले पनि आलु सर्वोत्कृष्ट वाली भएको बताए ।
महोत्सव अन्तर्गत सोमवार कलाकार जीवन दाहाल, शिवहरी ढुङगाना, परशुराम अधिकारी, रवी कार्की, कृष्ण सुवेदी, इन्द्रा गुरुङ, तुलसा क्षत्री, सुमन खड्का, कमला सुनार तथा गुड लक मन्टेश्वरीकाे प्रस्तुति रहे ।

त्यस्तै मंगलवार जीवन दाहाल, शिवहरी ढुङगाना, परशुराम अधिकारी, बविता जेरी, चोलेन्द्र पौडेल, अमर धिताल, सन्तोष सुवेदी, पुजा तामाङ र नविता सुवेदीका प्रस्तुति रहने जनाइएको छ ।
सोमवारसम्ममा ५ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । दर्शक बढ्ने अनुमान आयाेजककाे छ । महोत्सवकै अवसरमा कृषि अनुसन्धान निर्देशनालय लुम्लेले प्रदेशस्तरीय कृषि प्रविधि प्रदर्शनी तथा मेला पनि आयोजना गरिरहेको छ ।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *