स्याङ्जाको फेदीखोला गाउँपालिका अन्तर्गत रिङ रोडलाई कालोपत्रे गरिने भएको छ । चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी कालोपत्रे गर्न लागिएको हो । यसको लागि संघीय सहरी विकास मन्त्रालयबाट चालु आर्थिक वर्ष (२०८०÷८१) मा ७० लाख रुपैयाँ विनियोजन भएको थियो ।
फेदीखोला गाउँपालिका–२ को मुख्य बजार रिङ रोड विस्तारका लागि विनियोजित उक्त बजेट संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय, पोखरामार्फत टेण्डर भईसकेको गापाका प्रवक्ता एवं २ नम्बर वडाका वडाध्यक्ष अभिलाष गुरुङले जानकारी दिए । प्रवक्ता गुरुङका अनुसार योजना निर्माणाको जिम्मा टीका निर्माण सेवा पुतलीबजारले भ्याटसहित ६८ लाखमा ठेक्का सम्झौता गरी सडकको पिच निर्माण कार्य थालेको छ ।

सहरी विकास मन्त्रालयले बजार उन्मुख फेदीखोला बजारको २०७३ सालमा नै फेदीखोला एकीकृत वस्ती विकास सर्भे गरेको थियो । यसैको आधारमा हाल फेदीखोला चक्रपथको पिच गर्ने कार्य अन्तिम चरणमा पुगेको उनले बताए । ‘२०५६ मा निर्माण गरिएको फेदीखोला चक्रपथको स्तरोन्नतिको कार्य करिब करिब अन्तिम चरणमा पुगेको छ’ उनले भने, ‘यसवर्ष ८० प्रतिशत काम सकिन्छ । बाँकी काम आगामी वर्षमा पुरा गर्ने लक्ष्य छ ।’ उनले आगामी वर्षमा फेदीखोलाका रिङ रोडको सपना पुरा हुने दावी गरे ।

आगे कुनादेखि फेदीखोला बजारमाथिको फाँट–प्रहरी चौकीस्थित सडक पुलदेखि सिदार्थ राजमार्ग हुदै फेदीखोला बजार मुख्यबस्ती जोगीस्थान फाँट सम्मलाई रिङ रोडले छुने छ । फेदीखोला बजार बस्ती उन्मुख रहेको बताउँदै उनले रिङ रोडले व्यवस्थीत बस्ती विकास गर्ने बताए ।
