दुई दिन चल्ने सम्मेलनमा ५५ देशका १६ सयभन्दा बढी सहभागी हुनेछन् ।
तेस्रो अन्र्तराष्ट्रिय लगानी सम्मेलन आइतबारदेखि सुरु हुँदै छ । सरकारले आयोजना गरेको लगानी सम्मेलनमा ५५ देशका १६सयभन्दा बढी लगानीकर्ताको सहभागीता हुने नेपाल लगानी बोर्डले जनाएको छ ।
नेपालमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गर्न लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सोमबारसम्म दुई दिन चल्नेछ । सम्मेलनमा स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका गरी १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी छ । संघ, प्रदेश र स्थानीय तहका १ सय १९ र निजी क्षेत्रका ३१ परियोजना छन् ।
लगानी बोर्डका अनुसार सम्मेलनमा ९ खर्ब बराबरका परियोजना प्रस्तुत गरिने छ । सम्मेलनमा ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षालगायत विविध क्षेत्रका परियोजना रहेको छ भने, ६ वटा बन्द सत्र रहने बताइएको छ ।
लगानी सम्मेलनमा सवैभन्दा बढी नेपालबाट सहभागी हुनेछन् । यस्तै, चीन, अमेरिका, बंगलादेश, जापान, बेलायत, दुवई, जर्मनी, दक्षिण कोरिया, अष्टे«लिया, मलेसिया, पाकिस्तान, सिंगापुर, कतार, घाना, साउदी अरव, फ्रान्स र बहराइनबाट सहभागी रहने छन् ।
सम्मेलनमा २३ वटा स्टल रहने बोर्डले जनाएको छ । पहिलो दिन उद्घाटन सत्र र अन्य दुई मुख्य सत्र हुनेछन् । दोस्रो दिन भने समानान्तर रुपमा ११ सत्र सञ्चालन हुनेछ ।
अर्थमन्त्री बर्षामान पुनले लगानी सम्मेलन एउटा महोत्सव रहेको बताउँदै यसबाट बहुआयामिक उपलब्धि हाँसिल हुने बताएका छन् ।